राजनीति

बालेन–सुनिता बोलचाल बन्द, महानगरको लथालिङ्ग


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उप प्रमुख सुनिता डंगोल बीच चिसोपना देखिएको छ । कार्यपालिकाको बैठक नबसेको करिब पाँच महिना पुग्न लाग्यो । जसले सिंगो महानगरको कामकारबाही प्रभावित हुँदा कर्मचारीहरुलाई समेत काम गर्न असहज बनेको छ ।

काठमाडौं महानगरमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलविचको शीतयुद्धले महानगरपालिका फेरि बन्धक हुने अवस्था आएको छ । एउटै भवनमा दुबैका कार्यालय छ्न । तरपनि उनीहरुबीच बोलचाल छैन । फाइल यताउति गर्दा देखभेट हुन्छ तर, औपचारिक भेटघाट र कुनै बैठक भने भएका छैनन् । मातहतका कर्मचारीहरुबीच भने संवाद जारी छ । सुरुका दिनहरुमा बालेनको हरेक निर्णयमा हो मा हो मिलाएकी सुनिता अहिले बालेनप्रति आक्रामक देखिन्छिन् । बोल्ने अवसर र ठाँउ पाउनासाथ घुमाउरो पारामा मेयर बालेनको उछितो काट्न पछि पर्दिनन् । पछिल्लो समय एमालेले आयोजना गरेको युवा सम्मेलनमा बालेन विरुद्ध कटाक्ष गर्दा सुनिता चौतर्फी आलोचनाको सिकार बनेकी छिन् । आशा र भरोसा गरिएका काठमाडौं महानगरपालिकाका दुई होनाहार युवा विचको द्धन्द्धले सबैतिर नकारात्मक सन्देश गइरहेको छ ।

काठमाडौं टावरको नक्सापास प्रकृयामा प्रश्न उठाउँदै गत पुसमा प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं बिदामा बस्दा दरार उत्पनन भएको थियो । उनीमाथि छानबिन भइरहेको भन्दै बालेनले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउनसंघीय सरकारलाई पत्र पठाए । तर, सरकारले उनको मागअनुरूप प्रमुख प्रशासकीय अधिकृत पठाएन । यही बेला केन्द्र सरकार र काठमाडौं महानगरबिच वाकयुद्ध चलेको थियो । मेयर बालेनलेप्रशासकिय अधिकृत नपठाए ‘टुकुचामा गाड्ने’सम्मका धम्की दिए ।

गुरागाईंमाथि छानबिन गर्न कार्यपालिका बैठकबिनै तीनवटा समिति बनाए । तर, गुरागाईंमाथिको आरोप पुष्टि हुने बलियो प्रमाण भेटिएन । जसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन महानगरलाई पत्र पठायो । तर, बालेनले कुनै पनि हालतमा गुरागाईंलाई हाजिर गराउन नसकिने भन्दै उनको कार्यकक्षमा ताला लगाइदिए ।तर, चैत २१ गते तीन महिनापछि सुनिताकै पहलमा छानबिनको क्रममा रहेका गुरागाईंलाई नै हाजिर गराइएपछि बालेन र सुनिताको दूरी बढेको थियो । त्यसबेला गुरागाईंलाई हाजिर गराउन कार्यकक्षमा छिराउन ताला तोड्नुपरेको थियो ।

महिनामा एकपटक बस्दै आएको महानगरको कार्यपालिका बैठक पाँच महिनादेखि बसेको छैन । पछिल्लो पटक ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यसयता बैठक बसेको छैन । महिना दिनदेखि मेयर र उपमेयरको बोलचाल छैन । प्रशासकीय अधिकृतसँग पनि समन्वय छैन । प्रशाशकीय अधिकृतसँग मेयर बालेनको भेट नै नभएको र अबको कार्यपालिका बैठकमा हुनसक्ने कर्मचारीहरु बताउँछन् । अबको बैठकमा तीनैजना आमनेसामने हुनेछन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार कम्तीमा महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान छ ।

ऐनअनुसार, कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पालिका प्रमुखकै हो । तर महानगर चलाउने तीन पक्ष नै तीनतिर फर्किएपछि कार्यपालिकाका बैठक झन अन्योल बनेको छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गत वर्ष चैत १० गते मेयर बालेनसँग कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर त्यसको हाल सम्म पनि सुनुवाई भएको छैन । यस्तोबेला मेयरको पनि मौन ब्रत चलिरहेको छ । जसको चपेटामा फेरि कर्मचारी र सर्वसाधारण पर्ने निश्चित छ ।