अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिनका लागि मध्यपूर्वी देशको भ्रमणमा निस्किएका छन् । राष्ट्रपतिका रूपमा आफ्नो पहिलो प्रारम्भिक यात्राको गन्तब्य भने उनले साउदी अरबलाई छानेका छन् । तर उनको खाडी भ्रमणभन्दा बढी चर्चामा भने उनले पाउन लागेको उपहारको भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेयिबा, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएका छन् । यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ । मध्यपूर्वमा युद्ध र अस्थिरताबाट गुज्रिरहेका बेल यो भ्रमण हुन लागेको हो । पहिलो भ्रमणका क्रममा सुउदी पुगेका उनलाई युवराज सलमानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । ट्रम्पको साथमा विदेशमन्त्री मार्को रुबियो लगायतका वरिष्ठ अधिकारीहरू छन् ।
पछिल्लो समय ट्रम्पले पश्चिमालाई वेवास्ता गर्दै मध्यपुर्वप्रति धेरै नै सौहार्दता देखाउन थालेका छन् । मध्यपूर्वमा उदाउँदो शक्ति साउदी नै हो । ट्रम्पले साउदी अरबलाई पहिलो प्राथमिकता दिनुले खाडी देश र ट्रम्पको प्राथमिकतालाई देखाउँछ । राष्ट्रपति हुनुअघि ट्रम्प एक व्यापारी हुन् । व्यापारी एलन मस्कसँग ट्रम्पको सहकायले पनि अमेरिका धनाढ्यको साथमा उभिन्छ भन्ने पुष्टि गर्छ । साउदी अरबबाट अमेरिकी कम्पनीहरूलाई १० खर्ब डलरको लगानीको वाचा गरिएकोले उनी साउदी जान लागेको अड्कल गर्न समस्या छैन । यति मात्रै नभई साउदी अरबले रुस र युक्रेनबीचको तीन वर्ष लामो युद्धमा अमेरिकालाई मध्यस्थता गर्न मद्दत गरेको थियो । युक्रेनमा युद्धविरामपछि ट्रम्पको भ्रमण होस् भन्ने साउदीले चाहेको थियो । यो उनको कूटनीतिक रणनीतिको एक हिस्सा हो, जसले भ्रमण अझ महत्वपूर्ण बनेको छ । ट्रम्पको यो भ्रमणका क्रममा इजरायल हमास युद्ध लगायत पनि छलफलका विषय राखिएका छन् । इजरायल हमास युद्धमा साउदीले पनि मध्यस्थता गरिरहेको छ ।
साउदी अरबबाट ट्रम्प कतार हुँदै संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गर्नेछन् । ट्रम्पले भ्रमण गर्न लागेका यी तीनै ऊर्जा क्षेत्रमा समृद्ध देश हुन् । यी तीनै देशले गाजा, युक्रेन र इरानजस्ता ट्रम्पले समाधान गर्न चाहेका द्वन्द्वहरूमा मध्यस्थकर्ताको भूमिका खेलेका छन् । साउदीमा ट्रम्पले खाडी सहयोग परिषद्का ६ मुलुकका नेताहरूसँग शिखर सम्मेलन आयोजना गर्नेछन् । जसमा द्वीपक्षीय मुद्दाहरू, लगानी, हतियार विक्री र आर्टिफिसियल इन्टेलिजेन्स सहकार्यमा केन्द्रित हुनेछ । कतार भ्रमणमा सिरियाको मुद्दालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । युएईसँग पनि प्रविधि र व्यापारसम्बन्धी छलफल र सहमति हुने छ । यसरी उनले खाडीको यात्रा गरिरहँदा भ्रमणको भन्दा बढी चर्चा कतारले उनलाई उपहारमा दिन लागेको एक लग्जरी बोइङ जम्बो जेटले पाएको छ ।
कतारी शाही परिवारले ट्रम्पलाई उपहारमा विमान दिने तयारी गरेको र त्यसलाई उनले ‘एयर फोर्स वन’ को रूपमा प्रयोग गर्न सक्ने चर्चा चुलिएको छ । अमेरिकी रक्षा मन्त्रालयले पनि पुरानो एयर फोर्स वनलाई अस्थायी रूपमा विस्थापित गर्ने सन्दर्भमा नयाँ विमानबारे छलफल चलिरहेको पुष्टि गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमा गरेको एक पोस्टले थप चर्चा चुलिएको छ । ट्रम्पले डेमोक्रेट्सहरुलाई लक्षित गर्दै लेखेका छन्, ‘यो पारदर्शी उपहार हो, तर मूर्ख डेमोक्रेट्सहरू भन्छन् विमानको पैसा तिर्नु पर्छ !’ यो विमानलाई राष्ट्रपतिको सरकारी विमानको रूपमा प्रयोग गरिने सम्भावना छ ।
अमेरिकी सरकारले यो विमान स्वीकार गरेमा त्यो अहिलेसम्मकै महँगो उपहार हुनेछ । ट्रम्पको कार्यकाल सकिएपछि विमान राष्ट्रपतीय पुस्तकालयलाई दान गरिनेछ । हाल नयाँ बोइङ ७४७ को मूल्य करिब ४० करोड अमेरिकी डलर पर्छ । यद्यपि विपक्षी दलहरुले भने यस्तो उपहार लिन नहुने तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया