वर्षायाममा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिले नेपाली नागरिक सधैँ प्रताडित बन्नुपरेको छ । विपद्बाट प्रत्येक वर्ष ठूलो जनधजको क्षति हुने गरे पनि त्यसको समाधान सरकारको प्राथमिकता पर्दैन । हुन त प्रकोप आउने कुनै पूर्वजानकारी हुँदैन । तर,पनि हुनसक्ने पूर्वातयारीमा समेत सरकार र सर्वसाधारण सधैँ चुक्ने गरेका छन् ।
सोमबार काभ्रेको रोशी खोलमा आएको बाढीले धेरैलाई आश्चर्यचकित पारेको छ । मौसम विद्हरूले समेत अनुमान गर्न नसक्ने गरी आएको मध्यम वर्षाले ठूलो प्रकोप निम्त्यायो । बीपी राजमार्ग अवरुद्ध भयो भने एक महिला बाढीले बगाउँदा वेपत्ता भइन् । यो त्यही क्षेत्र हो जहाँ गत वर्षको असोज ११ र १२ गते समेत बाढीले बितण्डा मच्चाएको थियो । सोमबार काभ्रेको खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा भएको थियो । २४ घण्टामा १० देखि ५ण् मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ ।
मध्यम खालकै वर्षाले पनि रोशी, तेमाल गाउँपालिका बाढी–पहिरोबाट प्रभावित हुँदा पनौती नगरपालिकाको वडा नम्बर ३ देखि १० सम्म बाढीले क्षति पु¥याएको छ । पनौती नगरपालिकामा गत वर्ष असोजको बाढीले क्षति पु¥याएपछि अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप फेरि बगेको छ भने झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ । आलु लगायतका बाली पनि डुबानमा परेका छन् । रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप पनि बगाएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध भयो । गत वर्षको बाढीबाट क्षति भएपछि अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन पनि बगाउँदा कायौं बिरामी र एम्बुलेन्स अलपत्र परेको विपी राजमार्ग १५ घण्टापछि सञ्चालनमा आएको छ ।
प्रत्येक वर्ष विपत्तिबाट हुने क्षतिबारे सरकारले पूर्वतयारीका साथ ठोस कदम चाल्न नसक्दा नेपालीहरूले हरेक वर्ष यस्ता विपत्तिको सामाना गर्नुपरेको छ । यस वर्ष पनि मनसुन सुरु नहुँदै बाढीको प्रकोपले देखाएको यो खतरनाक अवस्था साँच्चै पनि विपद्को तयारीका लागि सर्तकर्ताको घण्टी हो । यो घटनाले संघीय संसदमा पनि स्थान पाएको छ । सांसदहरुले पटकपटक यस्ता अप्रिय घटनाहरूबाट ठूलो जनधनको क्षति हुँदा पनि सरकारले त्यसबाट पाठ सिक्न नसकेको भनेका छन् । विपद् आउनुअघि नै त्यसको पूर्वतयारी बारे बारम्बार पहल गर्दा पनि सरकारले प्राथमिकतामा नै नराखेको उनीहरूको भनाई छ ।
सदनमा सांसदहरूले बोलेको जस्तै सरकारले गर्ने गतिविधि पनि त्यस्तै देखिएको छ । वैशाख २१ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् पूर्वतयारीका लागि सबै तहलाई निर्देशन दिएको थियो । गृहमन्त्रीकै अध्यक्षताको बैठकले तयार हुन निर्देशन दिएको एक सातामै काभ्रेमा बाढीले क्षति पु¥यायो । अर्थात, मन्त्री र सम्बन्धित निकायको औपचारिकताले व्यवहारमा काम गरेन ।
गत वर्ष असोजमा आएको बाढीपहिरोका कारण काभ्रेमा ७८ जना, ६ जना बेपत्ता र ७९ जना घाइते भएका थिए । यसैगरी स्थानीयका घर, कृषि, पशु, शिक्षा, सडक, सञ्चार, खानेपानी तथा विद्युत् क्षेत्रमा पनि करोडौंको क्षति पुगेको थियो । गत असोजको बाढी र पहिरोले क्षतविक्षत बनाएको काभ्रेमा अहिले वर्षायाम सुरु नहुँदै बाढीको प्रकोप सुरु हुँदा वर्षायाममा झन् बढी विपत्ति निम्त्याउने चिन्ता बढेको छ । समथल क्षेत्रमा घाम लागे पनि पहाडी क्षेत्रमा वर्षा हुँदा बाढी आएका घटनाहरु पछिल्लो केही दिनयता सर्वाजनिक भइरहेका छन् । बाढीकै कारण पूर्वपश्चिम राजमार्ग, बीपी राजमार्गलगायत ठूला सडकहरु अहिले नै अवरुद्ध हने अवस्था आउँदा आामी मनसुन सहज हुने अवस्था छैन ।
त्यसमाथि यो मनसुनमा पनि औषतभन्दा बढी वर्षा हुने तथा प्राकृतिक विपत्तीहरु बढ्नसक्ने रिपोर्ट सार्वजनिक भइरहेका छन् । क्षति पु¥याइसकेपछि दुःख व्यक्त गर्नुभन्दा सजकताको बाटोमा सरकारको ध्यान छैन । जोखिम क्षेत्रमा बसेका स्थानीयहरुले समेत आफैँपनि सचेत हुनुपर्नेमा त्यसो हुन सकेको छैन । त्यसकारण विपद् पूर्वतयारीका लागि सरकारसँगै आफ्नो भौगोलिक अवस्था हेरी सर्वसाधारण पनि उत्तिकै होसियार रहने बेला भइसकेको छ ।
प्रतिक्रिया