Breaking

रवि कारागारमा गले, क्यान्टिनको खाना, रातभरी सुत्दैनन्


रास्वपा सभापति रवि लामिछाने कारागार चलान भएको तीन साता पुग्न लाग्यो । रुपन्देही कारागारको ४ नम्बर ब्लकमा छ्ट्टै बसेका उनलाई कारागारको दैनिकीमा भिज्न भने सहज भएको छैन । यता सभापति लामिछानेको अनुपस्थितिका बाबजुद रास्वपा भने पुनः तंग्रिने प्रयासमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार चलान भएको तीन साता पुग्नै लाग्दा कारागारको दैनिकीमा भिज्न त्यति सहज भएको छैन । रुपन्देही जिल्ला कारागार प्रशासनले एउटा सानो छुट्टै कोठामा लामिछानेलाई राखेको छ । अन्य कैदीसँग राख्दा असुरक्षित हुने भएकाले छुट्टै राखिएका लामिछानेलाई कारागारमा भेटघाट गर्न खासै धेरै मानिस पुग्दैनन् । सामान्यतः दैनिक दुईदेखि चार जना उनलाई भेट्न पुग्ने गरेका छन् । कारागार स्रोतका अनुसार लामिछानेले अध्ययनमा धेरै समय बिताउँछन् भने कारागारभित्रै पकाइएको खाना खाने गर्छन् । कारागार प्रशासनले नै प्रत्यक्ष कारागार सञ्चालन गरे पनि अघोषित रुपमा नाइके र भाइ नाइकेको दबदबा हुने हुँदा लामिछाने पनि प्रभावित नहुने कुरै भएन ।

कारागारको चापलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो दैनिकी नै फेरेका छन् । जहाँ लामिछानेको सुत्नेदेखि उठ्ने समय नै अन्य कैदीको भन्दा भिन्न अर्थात समय फरक छ । स्रोतका अनुसार उनी दिउँसै सुत्छन् भने मध्यरातमा उठ्छन् । लाामिछानेको कारागार बसाइँ कतिसम्म लम्बिन्छ यसै भन्ने सकिने अवस्था त छैन । यद्दपि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हालेकी छन् । उक्त रिटमाथि सुनुवाइ गर्दै अब सर्वोच्चको संयुक्त इजलासले उनलाई थुन्ने कि थुनामुक्त भइ मुद्दा लड्न पाउने भन्ने आदेश गर्नेछ । जहाँ न्यायाधीशहरु नै लामिछानेको भविष्यको लेखाजोखा गरेर उनलाई थुनामुक्त गर्ने प्रयासमा रहेको कांग्रेस नेताहरु दाबी गर्छन् ।

रवि लामिछानेको कानुनी विषयबारे धेरै चर्चा नगरौं । तैपनि एकै मुद्दामा थुनिएका पूर्व डिआईजी छबिलाल जोशीलाई भने उच्च अदालत तुलसीपुरले थुनामै राख्ने आदेश दिएको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । तर उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले पनि छविलाई थुनामै राख्ने आदेश दिएको हो । जोशीको आदेशलाई हेर्ने हो भने लामिछानेले पनि मुक्ति पाउँलान् भन्ने अवस्था देखिन्न । यद्दपि लामिछानेलाई सुरुवातदेखि नै निरन्तर सहयोग गरेका, उनको पक्षमा वकालत गरिरहेका अधिवक्ताहरु भने अब सर्वोच्चले न्याय दिने दाबी गर्छन् ।

सभापति लामिछाने कारागार पुगेसँगै सहकारी प्रकरणले सिंगो पार्टी नै बदनाम भएको रास्वपाका नेता कार्यतकर्ताले यतिबेला महसुस गर्न थालेका छन् । जहाँ सुमना श्रेष्ठको सहमहान्त्री पद त्यागले पनि जसलाई थप बल पुगेको छ । यतिसम्म कि केही पदाधिकारी र नेताले नै पार्टी परित्याग गर्ने चर्चा चुलिएपछि नेतृत्व अहिले खण्डन गर्नुपर्ने अवस्थामा छ । रास्वपाभित्र अर्थको विज्ञको रुपमा विश्वले नै सम्झिने डा. स्वर्णिम वाग्लेलाई बजेट अधिवेशनको नेतृत्व सुम्पिए पनि पहिलो दिन नै कार्यवहाक सभापति डिपी अर्यालले सदनको रोष्ट्रम ओगटे ।

जे भएपनि सभापतिमाथि राज्यले ज्यादती गरेको निष्कर्ष निकालेको रास्वपा अब सदनमा सशक्त बन्ने रणनीतिमा छ । अब ठूला दलहरुलाई चुनौती दिँदै सभापतिबिनै तंग्रिने र पार्टीलाई सशक्त र जनतामा गुमेको विश्वास जगाउने अभिभारा रास्वपामा आएको छ । यसका लागि अबको रास्वपाको कदम हेर्न बाँकी नै छ ।