नेपाली राजनीतिको पर्याय हो – कुरौटे प्रवृत्ति । कुरौटे भन्ने शब्दले तथ्य र तथ्यांकसँग मतलब राख्दैन । तर, यसको उन्नत भर्सन नेपाली राजनीतिमा देख्न सकिन्छ । जसले तथ्यांक देखाएरै भूल भुलैयामा पारिरहेको हुन्छ । र, भिड पनि यथार्थ बुझ्नतिर नलागी त्यतैतिर दौडिन्छ ।
नेता यस्ता छन्– जे पनि बोलिदिने । कार्यकर्ता यस्ता छन्– जे पनि बोलेको कुरा सही हो झैँ गरी पत्याइदिने । अर्को उन्नत जातका कार्यकर्ता छन्– उनीहरुले आफ्नो नेताले बोलेको झुठ पत्याउँदैनन् मात्र झुठलाई पनि सत्य सावित गर्न नासाका वैज्ञानिकभन्दा बढी खटिन्छन् । तर, अरुलाई गाली गर्दा आफ्नै हैसियत उदांगो भएको भेउ स्वयं नेताले पाउँदैनन् । यहाँ कागले कान लग्यो भन्दा कानै नछामी दौडिनेहरुको भिड जता पनि भेटिन्छन् । त्यस्ता केही पात्रबारे आज चर्चा गर्दैछौँ ।
१. ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही
नाम ज्ञानबहादुर भए पनि यिनमा अज्ञानबाहेक अरु केही झल्किँदैन । शिक्षा एमए पास । उनकै दाबी मान्ने हो भने उनी भारतीय सेनाका पूर्व सीए पनि हुन् । तर, यिनको एकमात्र खुबी हो– गलत कुुरालाई पनि सही झैँ गरी भन्न सक्ने र भिडलाई म्यानुपुलेट गर्नसक्ने । यो अभिव्यक्ति पनि त्यसैको उपज हो । उनलाई सुनको भाउ कसरी निर्धारण हुन्छ भन्ने कसैले सिकाइदिएनन् । गगन विश्वलाई पाठ पढाउने भन्दै कार्यकर्तालाई राजाको पालामा तीन हजार रुपैयाँ रहेको सुनको मूल्य गणतन्त्र आएकै कारण एक लाख ७३ हजार पुगेको फल्याँकेर गए । सुनको मूल्य बढ्नु र घटनुमा कुनै तन्त्र नभई अन्तर्राष्ट्रिय बजारमा भर पर्छ । उनको यो अभिव्यक्ति गणतन्त्र खत्तम र राजतन्त्र ठिक देखाउने कुतर्क हो ।
संविधानको धारा र पानीको धारा छट्याउन नसक्ने उनै शाहीले केही दिनअघि संसदमै पत्रकारहरुलाई संविधानको धारा २७४ को हवाला दिँदै यो संविधान नमान्ने व्यक्ति पनि यो देशको सांसद बन्न सक्ने हाँक दिए । तर, सो धारामा यस्तो कुनै व्यवस्था नभई संविधान संशोधनबारे उल्लेख छ । यो सरासर उनको अज्ञानता, जान्ने पल्टिने र अध्ययनशील देखाउने काइदा (ट्रिक)बाहेक केही थिएन ।
२. शंकर पोखरेल
धरैजसो सिद्धान्तको भाषा बोल्ने यिनले गणतन्त्रलाई सबैथोक देखाउन झूठ बोले । गणतन्त्र आएपछि मात्र कर्णालीका जनताले चामलको भात खान पाएको भन्दै कर्णालीका जनतामाथि नै अपमान गरेका छन् । यिनले जानकारीमा राख्नुपर्छ– दशौँ शताब्दीदेखि नै जुम्लामा मार्सी चामल फल्छ । यिनका गणतन्त्रका चामलभन्दा दशौँ शताब्दीकै मार्सी चामल विश्वको सर्वोत्कृष्ट ब्रान्ड हो । त्यही मार्सी भात खुवाएर दुर्गा प्रसाईंले कम्युनिस्ट मिलाएको बिर्सिएका पोखरेले सायद आफ्नो चुल्होमा मार्सी पुगे सेतो चामल छाड्ने छन् । यिनको गणतन्त्रमा कर्णालीबासीले नुनका लागि संघर्ष गर्नुुपरेको तथ्य बर्सिएर गणतन्त्र आएकै कारण भात खान पाएको कुतर्क गरे ।
३. केपी शर्मा ओली
राजावादीलाई मन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउन उचित हुने भन्दै गरेका उनी हुन्, प्रधानमन्त्री केपी शर्मा ओली । अहिले उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् हेर्ने हो भने उनकै दाबी अनुुसार पशुपतिका बाँदर जतिले पनि काम गर्न नसकेको तथ्य हो । त्यसमाथि उनकै समर्थनमा रहेको तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ओलीकै सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्रीसहित तीन मन्त्री बनेको तथ्य ओलीले बिर्सिएका छन् । त्यतिबेलै पशुपतिका बाँदर उठाएर मन्त्री किन बनाएनन् त्यो उनैले जानुन् ।
४. रमेश लेखक
योभन्दा हास्यास्पद अभिव्यक्ति अरु हुनै सक्दैन । ज्ञानेन्द्र शाहीले गणतन्त्र आएपछि सुनको मूल्य बढ्यो भन्नु र लेखकले गणतन्त्र आएका कारण मोबाइल आयो भन्नु दुबै कुतर्क मात्र हुन् । संकटका बेला भिजिबिलिटी गुुमाउने यिनले गृहमन्त्री बनेर उपलब्धी देखाउन नसक्दा गणतन्त्रले मोबाइल दिएको भन्दै गणतन्त्रको जग बलियो बनाउन खोज्दैछन् ।
५. गगन थापा
सस्तो लोकप्रियता देखाएर पिठो बिकाउन हिँडेका गगन अब झण्डामा पनि विभेद गर्दैछन् । उनी भन्दैछन्–चन्द्र सूर्य अंकित नेपाली झण्डा कांग्रेसको हो, मण्डलेको होइन । मण्डले, कुण्डले र पार्टीका झोले झिम्टे जो भए पनि सबैभन्दा पहिला ती सबै नेपाली नागरिक हुन् भन्ने कुरा गगनले बिर्सिए । हिजो यिनै गगनले राष्ट्रिय झण्डा बिसाएर कार्यकर्तालाई पार्टीको झण्डा बोकाए । नेताका हर्कतले जनतालाई अब पार्टीको झण्डा बोक्नु नर्क जानु सरह भइसक्यो । राष्ट्रिय झण्डा बोक्नै भए पनि राजतन्त्रको पक्षमा माहोल बढेपछि अब पार्टीसँगै राष्ट्रिय झण्डा पनि बोक्न कार्यकर्तालाई सिकाइरहेका छन् ।
माथि उल्लेखित सबै पात्र भिड देखेपछि उच्किने पात्र हुन् । चर्चा पाउने देखेपछि कोही होस्मै त कोही बेहोसीमा जे पनि फल्याँक्छन् । तर, तथ्यभन्दा माथि उठेर भ्रमको खेती गर्दा आफैँलाई उचाल्ने भिड आफैँतिर जाइलाग्न सक्ने कुुराको ख्याल गरेका छैनन् । यिनका हर्कत देखेर बिचरा जनता सधैँ हेरेको हे¥यै ।
प्रतिक्रिया