लोकप्रियता खोज्ने, ठोस योजना देखाउन नसक्ने र उत्तरदायीत्व नदेखाउने नेताले बेच्ने भनेकै गफ हो । उसले जति धेरै गफ बेच्यो त्यति शक्तिशाली भइन्छ भन्ने ठान्छ । र यो प्रवृत्ति नेपाली राजनीतिको एक बलियो पक्ष पनि हो । कहिलेकाहीँ नेताहरुले यतिसम्म गफ चुट्छन् कि एक्लै बसेर हिजोका अधिव्यक्तिसँग तुलाना गरे भने आफँैलाई लज्जाबोध हुँदो हो ।
बोलीको टुंगो नभएका नेता भएर हुनुपर्छ कमेडी शोको आवश्यकता नपर्ने देश हो नेपाल । यहाँ हरेक दिन सकभर रमाइला घटना हुन्छन्, नभए कुनै एक नेताले भए पनि पेट मिचिमिचि हाँस्ने गरी अभिव्यक्ति दिइहाल्छन् । सायद यही कारण नेपाल एसियाकै खुसी देश भएको हुनुपर्छ । हरेक पार्टीका शीर्ष नेताले बोल्दा कुनै न कुनै रोचक किस्सा त मिलिहाल्छन्, त्यसबाहेक त्यस्तै केही अभिव्यक्तिको संगालो आज राख्दैछौँ ।
१. माधव नेपाल
यहाँ एकीकृत समाजवादीका अध्यक्ष नेपालले उत्तर कोरिया र अमेरिका तथा दक्षिण कोरियाका राष्ट्रपतिबीच भेट हुनुमा आफ्नो योगदान भएको गफ दिए । नेपालको नेताले यतिसम्म पनि गर्न सक्छ र ? भन्दै तथ्य खोज्दा उनकै कारण भेट भएको प्रमाण कतै भेटिएन । उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीच २०००, २००७, र २०१८ मा वार्ता भए पनि यसमा माधवको भूमिका कस्तो हो भन्ने कहीँ कतै तथ्य भेटिँदैन । झुट नै त किन बोले होलान् भन्दै हामीले इन्टरनेटमा उपलब्ध सबै सामग्रीको अध्ययन ग¥यौँ । यसका साथै च्याट जीपीटीमार्फत पनि यसको तथ्य खोज्ने काम ग¥यौँ । तर यससम्बन्धी तथ्य प्रमाण कहीँ कतै नभेटिएपछि उनले झुटै बोलेका रहेछन् भन्ने पुष्टि भयो ।
यद्यपि, उनले गोप्य रुपमा खेलेको भूमिकालाई गोप्य नै राखिएको पनि हुन सक्छ । तर, यस्ता ठूला शक्ति राष्ट्रबीच मध्यस्थताको भूमिका खेलेका नेताबारे कतै न कतै चर्चा त हुनु पर्ने हो । केही समयअघि मात्र माधवले मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले चुनाव हारेपछि आफूसँग सल्लाह गरेको भए राम्रो हुने र सल्लाह मागेको भए चुनाव नलड्न सुझाव दिने थिएँ भन्दै गफ चुटेका थिए । गठबन्धन नगरे आफैँ चुनाव हार्ने र आफ्नै नेताले नपत्याउने अवस्थामा पुगेका माधवले कहाँबाट अरु नेतालाई सुझाव दिनु ? कहाँ शक्तिष्ट्रका राष्ट्रपति मिलाउनु ? यी गफ सुन्दा मात्र मज्जाक लाग्छन् । त्यसो त राष्ट्रिय राजनीतिमै कमजोर उनले आफूलाई अन्तर्राष्ट्रिय भूमिकामा प्रभावशाली रहेको देखाउन पनि अन्तर्राष्ट्रिय लेबलको गफ चुटेका हुन सक्छन् ।
२. डा. बाबुराम भट्टराई
यहाँ उनले आफूलाई कुकुर नसम्झन प्रचण्डलाई चेतावनी दिएका छन् । तर, प्रचण्डले के घाँस हालिदिएर हिजो उनैलाई निर्वाचन क्षेत्र छोडे ? त्यो घाँस हालेका थिए कि पराल ? त्यो उनैले जानुन् तर, पार्टी एकताको लड्डुले मुख मिठ्याएका बाबुराम अहिले स्वार्थ नमिले पछि उनै प्रचण्डको नामै सुन्न नचाहने र आफू बाघ बनेको आशयको अभिव्यक्ति दिनु अचम्म लाग्दो छ ।
३. मोहन बस्नेत
गगन थापा कांग्रेसको सभापति र आगामी प्रधानमन्त्रीकै लाइनमा रहँदा कांग्रेसकै नेता मोहन बस्नेतले गगनले चुनावसमेत नजित्ने ठोकुवा गरे । तर, उनी एकाएक किन आक्रामक भए यसबारे धेरैलाई थाहा छैन । खासमा कांग्रेस सिन्धुपाल्चोकका सभापति गगन गुटका हुन् । केही दिनअघि मात्र गगन जिल्लाको कार्यक्रममा जाँदा बस्नेतले ठाउँ नपाएर मञ्च छाड्नु पर्दाको आक्रोश मात्र हो यो ।
४. सूर्य थापा
गृहजिल्ला प्यूठानमा प्रदेश सांसद जति पनि हैसियत नपाएपछि आक्रोसित बने । कांग्रेसले हेट स्पिच दिएको आरोप लगाएपछि कांग्रेसलाई जवाफ फर्काएका उनले संसदमा आएपछि दुई महिनापछि आफूलाई हनुमान भनेको सम्झिए । जबकि यो प्रश्न गर्दा उनले मुसुमुसु हाँसेर जवाफ दिए । त्यसबेला प्रश्न मिठै लाग्यो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलर भनेको विषयसँग जोड्दै ओलीको चाकडीमा उत्रिएका छन् ।
५. ज्ञानेन्द्र शाही
संसदका हरेक बैठकमा खरो बोल्ने सांसद हुन् ज्ञानेन्द्र शाही । उनी सांसद मात्र नभई राप्रपाको प्रवक्ता पनि हुन् । तर, उनका अभिव्यक्तिमा राप्रपाको अपनत्व देखिँदैन । आइतबार मात्र राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिए । भलै यो अर्को बहस रहला । तर, शाही आफैँ कुन पुस्ताको राजनीतिको वकालत गर्दैछन् भन्ने प्रश्न हो । उनको पनि त एजेण्डा कुनै युवा नभई ८० वर्षीय ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने नै हो ।
६. गगन थापा
गगन थापा अभिव्यक्तिकै कारण पटक–पटक विवाद र चर्चामा आइरहन्छन् । कुनै समय पार्टी सभापतिको विरोध गरेर नथाक्ने थापा अहिले उनकै अंगरक्षक झै बनेका छन् । पछिल्लो समय आफू प्रधानमन्त्री भए अहिलेका प्रधानमन्त्रीभन्दा उत्कृष्ट काम गर्नसक्ने उनको अभिव्यक्ति चर्चा र विवादमा छ ।
७. रामहरि खतिवडा
रामहरि त्यस्ता नेता हुन् जसले छेपारोकै शैलीमा आफूलाई परिवर्तन गर्न सक्छन् । सायद यो उनको क्षमता पनि हुनसक्छ । हिजो कांग्रेसको निर्देशन विपरीत रवि लामिछानेलाई चोख्याउन राज्य व्यवस्था समितिको बैठक चलाएका उनले केही दिनअघि संसदमा त्यही चोख्याउने कुरालाई नै गलत भएको ठोकुवा गरे । विपक्षी पार्टीको काण्ड आउँदा हस्याङफस्याङ बैठक बसाइहाल्ने उनी कांग्रेस एमालेका एकपछि अर्को काण्ड आउँदा बैठक बसालेको इतिहास छैन ।
८. डा. स्वर्णिम वाग्ले
कांग्रेस छाडेर रास्वपा बनेका वाग्ले पटक पटक आफ्ना अभिव्यक्तिले विवादमा तानिन्छन् । नेतृत्वको अधिकभन्दा अधिक चाकडी गर्ने उनको प्रवृत्तिमाथि धेरैले व्यंग्य गर्ने गरेका छन् । कांग्रेसमा छँदा गगन थापालाई आइडल मान्थे । अहिले उनै गगनलाई सबैभन्दा चरित्रहीन मान्छन् । उसैगरी रवि लामिछानेलाई त बीपी कोइरालासँगै तुलना गर्दा उनको बडो आलोचना भएको थियो । अर्थात, असली स्वर्णिम को हुन् भेद छुट्याउनै हम्मे पर्छ ।
९. योगेश भट्टराई
असली को हुन् भनेर भेद छुट्याउन नसकिने अर्का पात्र हुन् योगेश भट्टराई । एमालेमा १० भाइहरु संयुक्त संघर्षमा रहँदा केपी शर्मा ओलीलाई तथानाम भन्ने योगेश अहिले उनैको देवत्वकरण गरेर नथाक्ने अवस्थामा छन् ।
१०. घनश्याम भुषाल
एकपटक कृषिमन्त्री भएर कृषि क्रान्तिको गफमा फड्को मारेका घनश्याम अहिले एकीकृत समाजवादीमा छन् । उग्र सैद्धान्तिक र दार्शनिक अभिव्यक्तिकै कारण एमालेबाट बाइपास हुनुप¥यो । आइतबार मात्र उनले एमाले र माओवादीले समाधान दिन नसक्ने भन्दै ती दलमा रहेका नेताहरु पनि हिनताबोध गरेर नेकपा एसमै आउने दाबी गरे । पार्टीमा भएकै नेता टिकाउन नसकेको अवस्थामा भुषालका यी अभिव्यक्ति आफैँमा रोचक त छन् तर गम्भीरता छैन ।
प्रतिक्रिया