समाचार

मान हराएका माननीय, रास्वपा सांसदको प्रश्नले कांग्रेस–एमाले लज्जित


सत्ता र प्रतिपक्षी सांसदहरुको भिडन्त बढ्दो क्रममा छ । संसदीय मूल्यमान्यता नै बिर्सिएर भिडिरहेका उनीहरुको यो दृश्य अहिले संसदीय समितिहरुमा रमाइलोको केन्द्र बन्दै छन् । नियन्त्रण गर्न सक्ने अवस्थामा सभापतिहरुसमेत नदेखिँदा आफैँमाथि प्रश्न उठ्ने अवस्थामासमेत सांसदहरुले बिर्सिरहेका छन् ।


प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा देखिएको दृश्यले अहिले सामाजिक सन्जाल तताईरहेको छ । भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद विनिता कठायत आक्रोशित रुपमा प्रस्तुत भईरहेकी छन् । तीन मिनेट तिन सेकेण्ड लामो सो भिडियोमा उनी भन्छिन् ‘नेपाली कांग्रेसको पनि लिस्ट निकाल्ने हो भने धेरैजनाको छ सभापतिज्यू, कसले कति जनासँग विवाह गरेका छन् भनेर । त्यो सूची सार्वजनिक गरिदिन सक्छौं’

हुन त यो बैठकमा डढेलो प्रकोपको क्षति न्यूनीकरणमा भइरहेका सरकारी प्रयासबारे छलफल हुनुपर्ने थियो । एजेण्डागत रुपमा जाने हो भने समितिले यो दिन सरकारले गरिरहेको कामको रिपोर्ट सुन्ने र आवश्यक निर्देशन दिने काम गर्नुपर्ने थियो । बैठकमा धारणा राख्न समय लिएपछि रास्वपा सांसद कठायत निकै आक्रोशित रुपमा प्रस्तुत हुँदा उनले उठाएको विषय पोखराको हो ।

समितिले गत पुस १९ गते दाङ, प्यूठान जिल्लाको गुठी जग्गामा बसोबास गर्ने पीडित किसानहरूको समस्याका सम्बन्धमा गुठीयार र गुठीसँग सम्बन्धित किसानसँग छलफल र अन्तक्र्रिया गर्ने कार्यक्रमका लागि समितिमा रहेका ७ जना सांससहितको टोलीलाई पोखरामा लगेको थियो ।विनिताका अनुसार सोही कार्यक्रममा पुगेका सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले रक्सी खाएर रास्वपाका नेताहरुको कुरा काटेका थिए ।

यसरी समितिमा एजेण्डाभन्दा पुरानो घटनाको रोष पोख्न पुगेकी विनिताको यो भनाइले सांसदको हालत त बाहिर ल्याइदिएको छ नै उनले समेत संसदीय मर्यादालाई जोक बनाइदिएकी छन् । अर्थात समिति सत्ता पक्ष भर्सेस विपक्षीको भिडन्तको अखडा भएको भाष्यलाई यसले बल पुर्र्याएको छ ।

यस्तै दृश्य सार्वजनिक लेखा समितिमा पनि देखिएको थियो । जहाँ विपक्षी माओवादी अहिले एजेण्डा भन्दा सभापति हटाउने खेलमा छ । आफ्नाले विगतमा गरेको संसदीय परम्परा विरोधी कार्य बिर्सिएर उनीहरु सभापतिको राजीनामा मागिरहेका छन् । अर्थात नैतिकताले दृष्टिले उनीहरुको माग तर्कपूर्ण देखिएपनि सत्तारुढ पछि नहट्ने अवस्थाले यो लेखा समिति पनि सत्ता भर्सेस प्रतिपक्षीको कुस्ती अखडा जस्तै देखिएको छ ।

यता प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा समेत यस्तै दृश्य यसअघि नै देखिसकेको छ । जहाँ सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको थियो । समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए। त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए। जसले तनावकै वातावरण बन्दा कसले कसलाई निकाल्नेसम्मका धम्कीपूर्ण चेतावनी नै प्रस्तुत भएका थिए ।

हुन त बैठक सम्हाल्ने सभापतिले हो । तर आफँैमाथि प्रश्न उठ्दा कोही बोल्न सक्ने अवस्थामा छैनन् भने कसैको व्यवहार भिड्ने खालको छ । फलतः एजेण्डाभन्दा बाहिर गए पनि समितिमा कसैमाथि लगाम लगाउन सक्ने स्थिति नै छैन । जसले मिनी संसद भनिने समितिको मर्यादामाथि मात्र प्रश्न उठेको छैन कि सांसदको बोली, व्यवहार र मर्यादासमेत प्रश्नको घेरामा छन् ।