Breaking

सुरक्षा थे्रटमा नेता, बढ्दो आक्रमण, झापड र कालोमोसोदेखि चप्पलसम्म, निसानामा को–को परे ? (भिडियो)


काठमाडौं । आफूलाई आवश्यक पर्दा र रापताप हुँदा यीनै देउवा, ओली, प्रचण्डले धक्कामुक्की गर्न सिकाए । आज आफैँ त्यो अराजकताको भुंग्रोमा पर्दा स्वतन्त्रता स्वच्छन्दता हुन नहुने भनिरहेका छन् । यहाँ अराजकता ठिक छ भन्न खोजिएको होइन । तर, विरोधीमाथि धक्कामुक्की गर्नुपर्छ भन्ने संस्कारको उद्गम थलो कांग्रेस र एमाले र माओवादी नै हुन् ।

कुनै समय थियो, जब कसैलाई गाली गर्नुपरे तेरो घरमा कांग्रेस पसोस् भनिन्थ्यो, गगन थापा लगायत नेताहरु दरबारमा ढुंगा हानेरै उदाएका हुन् । त्यसपछि माओवादी आयो । जसले आफ्ना सुप्रिमो प्रचण्डविरुद्ध बोल्ने र लेख्नै हुदैन भन्थ्यो । उसका संगठनले कि धन दे कि जन दे भन्दै आतंक मच्चाए । एमालेको युवा संघ पनि आफ्ना अध्यक्ष ओलीविरुद्ध बोल्नेको दानवीकरण गर्न पछि परेन । धेरै पहिले जानै पर्दैन गत वर्ष मात्र संसद अवरोधकै समय कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी ओलीमाथि संसदमै आक्रमण गर्नसम्म अघि बढेका थिए ।

सरकार छाडेपछि प्रचण्डले त हाकाहाकी बंगलादेश बनाइदिने धम्की दिए । सरकारमै हुँदा समेत इँटको जवाफ पत्थरले दिन कार्यकर्ताहरुलाई सर्कुलर गर्ने गरेका थिए । अहिले यिनकै विकल्पमा उदाएको रास्वपा । जसले सामाजिक सञ्जालसँगै भौतिक आक्रमणमा पनि हात लम्काउन थालेको छ । कालोमोसो दलेर क्रान्तिकारी भइन्छ भन्ने दुर्गा प्रसाईं स्वयंले कालोमोसो भेटेपछि केही शान्त बने । अर्थात नयाँ पुराना कोही पनि जनआक्रोश वा राजनीतिक भाषामा भन्दा अराजकताबाट अछुुत रहेनन् ।
आउनुहोस् विस्तृतमा हेरौँ । आफ्नै प्रवृत्तिको सिकार को को बने ?


१. रवि लामिछानेलाई खोया
भिड बटुल्दैमा शक्ति बढ्छ भन्ने बुझेका रवि लामिछानेमाथि २०८० पुस ७ गते पोखरामा खोया प्रहार भएको थियो । त्यही दिनबाट सहकारी प्रकरणको सुरुवात भएको हो । जे होस् लामिछाने उनै हुन् जसले टेलिभिजन कार्यक्रम सिधाकुरा चलाउँदा केपी ओलीको घरमा ढुंगा हान्न उस्काउने गरेका थिए । अहिले रास्वपाकै समर्थकहरुले रवि लामिछानेको विपक्षमा बहस गरेका भन्दै कानुन व्यवसायीमाथि हातपात गर्न अग्रसर देखिएका छन् ।

२. दुर्गा प्रसाईंलाई कालोमोसो
कुनै समय चितवन र जाजरकोटमा बैंक तथा लघुवित्ता संस्थाका कर्मचारीलाई कालोमोसो दल्न यिनै प्रसाईंले युवाहरुको दस्ता नै बनाएका थिए । तर, २०८० असोज २२ गते काठमाडौंको यल्लो प्यागोडा होटलमा एमालेको युवासंघको जत्थाले उनै प्रसाईंलाई मोसो दल्यो ।
३. पुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता र झापड
प्रचण्डले जतिपटक पनि जुत्ता र झापड भेटेका छन् त्यो उनकै विगतको उपज थियो । प्रचण्डलाई पहिलोपटक २०६९ मंसिर १ गते भृकुटीमण्डपमा बाग्लुङका २५ वर्षीय पदम कुँवरले थप्पड हानेका थिए । जबकी कुँवरको परिवारका सदस्य जनयुद्धमा सक्रिय थिए । त्यसपछि २०७६ फागुन ७ गते राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । जुम्लाका २२ वर्षीय रतन तिरुवाले उनीमाथि प्रहार गरेका थिए । उनी परि पूर्व माओवादी लडाकू परिवारका थिए ।
४. केपी शर्मा ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि २०८० मंरि २८ गते धनकुटामा आक्रमणको प्रयास भयो । झुलाघाट चिवाभञ्ज्याङ यात्राका क्रममा धनकुट पुगेका उनीमाथि धनकुटाकै महेश राईले आक्रमणको प्रयास गरेका थिए । कोशी प्रदेशको नामाकरणविरुद्ध त्यहाका पहिचानवादीहरु ओलीविरुद्ध क्रुद्ध थिए ।
५.बाबुराम भट्टराईमाथि जुत्ता
प्रचण्डका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईमाथि पनि २०७३ मंसिर २३ मा जुत्ता प्रहार भएको थियो । पोखरामा आयोजित कार्यक्रममा कालो झण्डा देखाउँदै कैलालीका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता हानेका थिए ।
६. झलाथ खनाललाई थप्पड
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खानलमाथि २०६७ माघ ७ गते झापड भेटेका थिए । उनीमाथि एमालेकै पूर्व कार्यकर्ता सुनसरीका देवीप्रसाद रेग्मीले पार्टी प्रवेशीहरुको लाइनमा बसेर उनकै हातबट टीका ग्रहण गरेपछि झापड हानेका थिए । त्यसको एक हप्तामै प्रधानमन्त्री बनेका खनालले झापडलाई आशीर्वादका रुपमा लिएको समेत बताएका थिए ।
७. सुशिल कोईरालामाथि फ्रेम प्रहार
वि.सं २०६८ सालमा कांग्रेस सभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भएको थियो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए । पार्टीभित्रकै विवादले सो आक्रमण भएको बताइन्छ ।
८. झक्कुप्रसादलाई झापड
माओवादी सभासद झक्कुप्रसाद सुवेदीले २०६८ बैशाख १९ गते झापड खाएका थिए । उनलाई काठमाडौंको तीनकुनेमा प्रेमराज देवकोटाले झापड हानेका थिए । कफि पसलका सञ्चालक रहेका देवकोटाले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए ।
नेता कुटिएका घटनाको लामै सूची हुँदा अहिले अधिवक्ताहरु समेत कुटिन थालेका छन् । केही दिनअघि मात्र काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठमिाथिको आक्रमणलाई धेरैले अराजकताको संज्ञा दिएका छन् ।
बाँकि भिडियो सहित