नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले डा.भीम रावलको साधारण सदस्यसमेत खोसेपछि उनको ५१ वर्षीय राजनीतिक यात्रामा पूर्णविराम लगाई दिएका छन् । कुनै समय एमालेको एउटै गुटमा रहेर राजनीति गरेका ओलीले नै दलविहीन बनाइदिएका रावलको सम्बन्ध राजनीतिक यात्राभरी नै उचार चढावले भरिपूर्ण रह्यो ।
पूर्वबाट झापाको विद्रोहले जन्माएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पञ्चायत फाल्न विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका पश्चिमका ठिटो भीम रावलको मिलनको थलो नै जेल बन्यो । पञ्चायतविरुद्ध जेल बस्दा एकअर्कालाई चिनेका ओली र रावल पार्टी जीवनका हरेक उतारचढावमा सँगै देखिँदा सत्ता यात्रा पनि सँगै गरे । २०५१ सालको अल्पमतको एमाले सरकारमा ओली गृहमन्त्री बने भने रावल पर्यटन राज्यमन्त्री भएका थिए । सँगै जेल जीवन बिताएको र एउटै सरकारमा बसेर काम गरेको भए पनि यतिखेरसम्म यी दुईको सम्बन्ध न त घनिष्ट हुन सकेको थियो न तिक्ततापूर्ण नै ।
पार्टीको नेतृत्व पंक्तिमा दुवै नेता पुगिनसकेको अवस्थामा ओली र रावलको सम्बन्धमा २०६५ सालमा भएको पार्टीको आठौं महाधिवेशनपछि मात्र नयाँ अध्याय सुरु भएको देखिन्छ । बुटवलमा भएको उक्त महाधिवेशनमा पूर्व झापाका ओली र पश्चिम अछामका रावल एउटै प्यालनमा थिए । राजनीति थालेदेखि नै झलनाथ खनालको निकट रहेका रावलले निर्वाचनको मुखैमा ओलीलाई रोजेका थिए । अध्यक्षका उम्मेदवार ओली र उपाध्यक्षमा लडेका रावल दुवै महाधिवेशनमा पराजित भए पनि उनीहरूको सम्बन्ध भने टिकिनै रह्यो । परिणामतः २०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ओलीकै निगाहामा रावलले गृहमन्त्री बन्ने अवसर पाए ।
तर सरकारमा सहभागी भएपछि भने उनको माधवसँग निकटता बढ्दै गयो र २०७१ सालमा भएको नवौं महाधिवेशनमा माधवकै प्यानलबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भए । यता, अध्यक्षमा भने ओली चुनिएका थिए । फरक–फरक प्यानलबाट जिते पनि पार्टीभित्र ओली र रावलबीच राम्रै सहकार्य थियो । रावलले पार्टी सञ्चालनमा सधैं ओलीलाई सहयोग गरेको एमाले नेताहरू बताउँछन् । संविधान निर्माणपछि २०७२ सालमा ओलीले सरकारको नेतृत्व गर्दा रावललाई उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारी दिए । ओली प्रधानमन्त्री भए पछि भारतले नाकाबन्दी ग¥यो । यस समयमा दुवै नेताले राष्ट्रवादको मुद्दा उचाल्दा यी दुईबीचको सम्बन्ध थप प्रगाढ बनेको थियो । तर, यसपछि भने उनीहरूको निकटता लामो समय टिक्न सकेन ।
२०७४ साल फागुनमा एमाले र माओवादीबीच एकता हुँदा रावललाई सचिवालयमा नसमेटेका ओलीले सरकारमा पनि नअटाएपछि यी दुईको सम्बन्धमा दरार पैदा भयो । ओलीसँग टाढिएपछि रावल फेरि माधव नेपालसँग नजिकिए र माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपाको अध्यक्षबाट ओलीलाई हटाउनु पर्ने पक्षमा उनी उभिए । साथै सरकारबाट पनि ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमासमेत रावलले हस्ताक्षर गरे । यसका साथै संसदबाट एमसीसी पारित गर्दा एमालेले मौन समर्थन जनाएको थियो । तर, रावलले भने पार्टीको ह्वीप उल्लंघन गर्दै एमसीसी राष्ट्रघाती भएको अभिव्यक्ति संसदमै दिएपछि ओली थप चिढिए ।
अन्ततः सर्वाेच्चको आदेशपछि नेकपाको एकता भङ्ग हुँदै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्कायो । तर २०७८ सालमा माधव नेपालले एमालेबाट विद्रोह गर्दा रावलसहितका नेताहरू ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै अडिए । यसका बाबजुद पनि ओलीसँग निकट हुन नसकेका रावलले सुदूरपश्चिमको इञ्चार्ज पनि गुमाए । नेकपा बत्रु अघि र पछि पनि रावल कै जिम्मामा रहेको सुदूरपश्चिम ओलीले माओवादीबाट एमालेमा आएका लेखराज भट्टलाई हस्तान्तरण गरेपछि ओलीसँग उनी थप बिच्किए । भट्टलाई नै ओलीको दह्रो साथ रहेको थाहा पाएपछि रावल २०७९ को महाधिवेशनमा ओलीलाई सर्वसम्मत हुन नदिने मनस्थितिका साथ प्रतिष्पर्धामा उत्रिए । त्यसपछि ओलीले अध्यक्षमा आफ्नो प्रतिस्पर्धी बनेका रावलमाथि निषेधको राजनीति सुरु गरे । सोही दुस्मनी उत्कर्षमा पुग्दै गर्दा अहिले भने रावल एमालेबाटै निष्कासनमा परेका छन् । जसका कारण उनीसँग राजनीतिमा लाग्ने विकल्पहरू सीमित बनेका छन् ।
एमाले बनाउन पाँच दशकभन्दा बढी समय खर्चिएका डा. भीम रावललाई नै पार्टीबाट निष्कासन गरिएपछि अहिले एमालेभित्र बबण्डर नै मच्चिएको छ । सधैँ राष्ट्रघाती सन्धिको आरोप लाग्ने महाकाली सन्धिमासमेत ओलीकै कित्तामा रहेका रावलको दोस्ती दुस्मनीमा परिणत भइसकेको छ । योसँगै सूर्य उदाउने पूर्वबाट आएका ओली र सूर्य अस्ताउने पश्चिमका रावलबीचको सम्बन्ध भने देशको केन्द्र भागमा सकिएको छ ।
प्रतिक्रिया