Breaking

डम्बरलाई कांग्रेसीले हराए, भोट तथ्यको लेखाजोखा, देउवालाई मिल्यो गगन–विश्व तह लगाउने अस्त्र


इलाम २ को प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेश सभा १ को प्रदेशसभा सदस्य चयनको उपनिर्वाचन सकिएको छ । उपनिर्वाचनको दुवै क्षेत्रमा नेकपा एमालेले बाझी मारेको छ । बझाङमा सहानुभूतिको भोट बटुल्ने र इलाममा एमालेभित्रको क्षतिलाई जितमा बदल्ने रणनीतिसहित चुनावमा होमिएको कांग्रेस भने दुवै क्षेत्रमा भएको अप्रत्याशित हारले स्तब्ध बनेको छ । बलियो सांगठनिक आधार हुँदाहुँदै हार व्यहोर्न बाध्य कांग्रेस निरीह बनेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता उलटफेर गरेपछि प्रतिपक्षमा थचारिएको नेपाली कांग्रेस पटकपटक बुढानीलकण्ठमा भएको बैठकपछि पार्टीभित्र गुटको अन्त्य भएको एकताको सन्देशसहित उपचुनावमा होमिएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको साथले गोदावरीको एजेन्डालाई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले इलामबाट अनुमोदन गराउन लागि परेका थिए ।

गत आमनिर्वाचनमा पूर्वसभामुख एवम् एमाले उपाध्यक्षसमेत रहेका स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग कांग्रेसका डम्बरबहादुर खड्का १ सय ४४ को झिनो मतान्तरले हारेका थिए । गत चुनावमा जम्मा १ सय ४४ मतान्तरले हारेको कांग्रेस नेम्वाङको निधनपछि भएको उपचुनावमा सहजै जित हात पार्ने दाउमा थियो ।


सुवासका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि एमालेभित्र नै बढेको असन्तुष्टि, इलाममा राजनीतिक धरातल नै नभएको रास्वपा र पार्टी संगठनबिनाको पहिचानवादी स्वतन्त्र उम्मेदवार सबैलाई सहजै पार लगाउँदै चुनाव जित्नेमा नेपाली कांग्रेस ढुक्क थियो । २६ वर्षपछि इलाम २ मा पुनः कांग्रेसको झण्डा गाड्ने दाउमा कांग्रेस थियो । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा इलामेली जनताकोे मन जित्न घर–घरै पुगेका थिए ।

तर नतिजा ठिक उल्टो आयो । बाबु सुवासचन्द्र नेम्वाङसँग हारेका डम्बर खड्का छोरा सुहाङसँग पनि हार ब्यहोर्न बाध्य भए । त्यो पनि ५ हजार ८ सय ३० मतान्तरले । सुहाङका पिता सुवास नेम्वाङसँग खड्का १ सय ४४ मतले पराजित भएका थिए । आफ्नै मतसमेत जोगाउन नसकेको कांग्रेस बजार क्षेत्र मात्र नभइ गाउँमासमेत अप्रत्याशित मत गुमाउन पुग्दा होसहवास उडेको अवस्थामा छ ।

‘वंशवाद र अवसरवादलाई होइन सेवा भाव, मर्दापर्दा डम्बर खड्का’ नारासहित दोस्रो पटक चुनावमा होमिएका कांग्रेसका डम्बर खड्कालाई इलामेली जनताले फेरि अस्वीकृत गरेका छन् । कांग्रेस एक्लै चुनाव लड्न सक्ने विषयलाई इलामबाट अनुमोदन गराउन प्रतिष्ठा कै विषय बनाएर महामन्त्रीद्वय खटिएका थिए । डम्बर जिताउन गगन–विश्व नै इलाम पुगे । योसँगै शेखर कोइरालाले किरात धर्मगुरु आत्मनन्दको आर्शिवाद नै लिन भ्याए । डम्बरलाई चुनाव जिताउन अनेक हत्कण्डा लगाए पनि जित भने हात पारेन ।


इलाममा कांग्रेस हार्नुमा पार्टीभित्र जरा गाडेर बसेको गुटगत राजनीति नै मुख्य देखिन्छ । इलाममा कांग्रेस पराजित मात्र भएन जनमतसमेत खस्केको छ । २०७९ को आमचुनावमा २९ हजार ९ सय ६ मत पाएको कांग्रेस उपचुनावमा २१ हजार ९ सय ४२ मतमा झरेको छ । इलाम दुईमा दुई वर्षमा कांग्रेसको ७ हजार ९ सय ६४ मत घटेको छ । गत चुनावमा २२ हजार बढी समानुपातिक मत पाएको कांग्रेसले उक्त मतसमेत आफ्नो पक्षमा पार्न सकेन ।

इलामका ४४ वटा वडामा २२ वडा कांग्रेसको कब्जामा छ तर त्यही वडामासमेत कांग्रेसले कांग्रेसलाई नै भोट नहालेको स्पष्ट भएको छ । अर्को पहिचान विरोध एमालेले पहिचान पक्षधरको मत आफ्नो पोल्टामा पार्दा पहिचानको पक्षमा रहेको कांग्रेसले उक्त मत जोगाउन सकेन । इलामै बसेर पार्टी र संगठनको नेतृत्व गर्ने व्यक्ति चुनावमा उठे पनि गुटको सिकार बनिरहेको कांग्रेसभित्र जिल्ला सभापतिले कार्यकर्ता रिझाउन नसकेको स्पष्ट भएको छ ।

इलाममा सुहाङले सान्त्वनाको मतसहित जित हात पार्दा बझाङमा सहानुभूतिको मत बटुल्ने अपेक्षा गरेको कांग्रेस असफल बन्यो । बझाङमा पनि कांग्रेसले पराजय व्यहो¥यो । आन्तरिक रुपमा नमिलेको कांग्रेसका लागि कम्युनिस्ट पार्टीहरु एक्लाएक्लै चुनाव लड्दासमेत भारी परिरहेको छ । अझ कम्युनिस्टहरु एक भए कांग्रेसले आफ्नो राजनीतिक विरासत कसरी जोगाउला ? यसतर्फ कांग्रेसले बेलैमा विमर्श गर्न आवश्यक रहेको विश्लेषकहरुको सुझाव छ ।