Breaking

एमालेले जिते पनि घट्यो मत, बेकारको दम्भ, पहिचानवादीको उदय (भिडियोसहित)


काठमाडौँ – इलाम–२ मा नेकपा एमालेको निरन्तरताले अरु दलमा सन्नाटा छाएको छ । यो क्षेत्रमा यसअघि पनि एमालेकै स्व. सुवास नेम्वाङले जितेकाले अंकगणितीय रुपमा खासै फरक पर्दैन । तर मिसन-०८४ चलाइरहेका दलहरुलाई राजनीतिक रुपमा भने ठूलै सन्देश दिएको छ ।

संसदीय सिट संख्याका हिसाबले खासै असर नपार्ने इलाम–२ उपनिवार्चनको परिणामले राजनीतिक हिसाबमा भने धेरै सन्देश छोडेको छ । खासगरी नेपालमा उत्ताउलो, उच्छृंखल राजनीति र सामाजिक सञ्जालमा पाएको लोकप्रियताले चुनाव जितिन्छ भन्ने दम्भलाई तोडेको छ । साथै, राजनीतिमा युवाको आवश्यकता, वैकल्पिक शक्तिको धरातल, व्यवस्था परिवर्तन गर्न खोज्नेहरुको औचित्यलाईसमेत स्पष्ट पारिदिएको छ ।

त्यसभन्दा पनि ठूलो विषय भनेको एक वर्षमा फेरिएको राजनीतिक कोर्स र त्यसपछिको शक्तिलाई उपनिर्वाचनले देखाइदिएको छ । यहाँ एमालेका सुहाङ नेम्वाङले विजयोत्सव मनाइरहँदा पार्टीको शक्ति भने घटेको छ । कांग्रेसले आफ्नै पोल्टाको मत जोगाउन नसक्दा गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ । रास्वपाले गत निर्वाचनभन्दा मत बढाएकाले सन्तुष्टि लिनुपर्ने देखिन्छ । हौसिनु पर्ने अवस्थामा भने पहिचानवादी मात्रै छन् । आउनुहोस् यसलाई विस्तृतमा चर्चा गरौँ ।

नेकपा एमालेले चुनाव जितेको छ । इलाममा गत निर्वाचनमा भन्दा बढी मतान्तर पनि छ तर मत भने घटेको छ । अघिल्लो चुनावमा सुवास नेम्वाङले ३० हजार २० भोट ल्याउँदा अहिले सुहाङले २७ हजार ७७२ मात्रै ल्याएका छन् । यसपटक माओवादीको पाँच हजार भोटसमेत थपिनु पर्नेमा करिब ३ हजार मत घटेको छ । बझाङमा पनि गत निर्वाचनमा गठबन्धनसँग मुकाबिला गर्दा नै १३ हजार ३३६ मत पाएको एमाले अहिले सबै दलहरु एक्लै चुनाव लड्दासमेत ११ हजार ६१३ मत पाउँदा १७२३ मत घटाएको छ ।

जित भएकाले एमालेका लागि यो निर्वाचन सकारात्मक भए पनि कांग्रेसले भने थुप्रै पाठ सिक्नुपर्ने देखिन्छ । कांग्रसले अरु तान्नेभन्दा पनि पोल्टाकै जोगाउन नसक्दा हार ब्यहोर्नुप¥यो । अघिल्लो चुनावमा २२ हजार मत पाएको कांग्रेसले यसपटक २१ हजार ९४२ मै चित्त बुझाउँदा उसले पार्टीकै भोट पाउन सकेन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा इलाममा खटिँदासमेत पार्टीका करिब एक हजार मतदाता बिच्किए । अर्थात संगठनकै भोट नआएको देखियो । यसले एक्लै निर्वाचनमा होमिन सक्ने कांग्रेसको आत्मबलमा चोट पु¥याएको छ भने गुटले जित्ने र कांग्रेस हार्ने अवस्थाको नतिजा दिएको छ ।

इलामको नतिजाले खुसी हुनुपर्ने भनेको पहिचानवादी मात्रै हो । गत निर्वाचनमा एक हजार दुई सय भोटमै सीमित पहिचानको झिल्को यसपटक भने ११ हजार ४५७ मतसम्म विस्तार भएको छ । यसले कांग्रेस–एमाले र रास्वपाको रापतापलाई खुम्च्याउने सामथ्र्य राख्ने शक्ति पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाएका छन् भने कोशी नामकरणसहित पहिचानको पक्षमा उल्लेख्य मत बढ्ने संकेत गरेको छ । यद्यपि २५ हजार पहिचानवादी रहेको भनिएको त्यो क्षेत्रमा डकेन्द्रले सबैको मन भने जित्न सकेनन् ।


गत निर्वाचनको मतसँग विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो क्षेत्र थप विस्तार गरेको छ । मिलन लिम्बु हार्दा रास्वपाले दुःख मनाउनुभन्दा भोट बढेकोमा खुसी खोज्नु पर्ने देखिन्छ । गत निर्वाचनमा १ हजार ३८० मत मात्रै पाएको रास्वपाका मिलन लिम्बुले यसपटक ४ हजार मत थप्दै पाँच हजार २० मत ल्याएका छन् । जुन रास्वापका लागि सकारात्मक नतिजा हो । तर सामाजिक सञ्जाल, केही क्षेत्रमा जितेको मतकै भरमा संगठनबिना बहुुमत ल्याउने रास्वापाको महत्वकांक्षाले भने उसलाई पिरोलेको देखिन्छ । पुराना पार्टी खत्तम हुन् र नयाँ पार्टीमा आउने बित्तिकै खत्तम व्यक्ति पनि उत्तम हुन्छन् भन्ने सोच बोकेको रास्वपालाई भने यो चुनावले ठूलो सन्देश छाडेको छ ।

ठूला दलहरुको मत पहिचानवादी उम्मेदवारले काटेको बुझ्न समस्या छैन । चुनावअघि कोशीमा एमाले लखेटिँदा माओवादीले रेड कार्पेट पाउनु, प्रधानमन्त्रीले नै जातीय पहिचानको आश्वासन दिनुले पनि माओवादीको धेरै भोट पहिचानको पक्षमा मोडिएको देखिन्छ । उम्मेदवारहरुले आफ्नै वडामासमेत उल्लेख्य मत नपाउँदा उनीहरुको लोकप्रियता छैन भन्ने बुझियो । आफूलाई पुराना दलहरुको विकल्प, यो व्यवस्थाकै विकल्प भन्नेहरुलेसमेत दरिलो जवाफ पाएका छन् । साना दलहरुप्रति जनताको झुकाव नै देखिएन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि सीके राउतसम्मको दौडधुप बालुवामा पानी खन्या सरह भयो । राप्रपाले इलाममा पाँच सय मतसमेत कटाउन नसक्नुले नेताहरुप्रति नैराश्यताको भाव सामाजिक सञ्जालमा ब्यापक देखिए पनि व्यवस्था परिवर्तनकै पक्षमा जनता पुगिसकेका छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ । आफूलाई वैकल्पिक बताउने जनमत पार्टी लगायतलाई शक्ति र एजेण्डा बिस्तार गर्न नसकेको सन्देश दिएको छ । यो नतिजाले कम्युनिस्ट ध्रुविकृत भए बहुमत आउनेसम्मकै संकेत गर्दा कांग्रेसले पहिलो दल बन्न यही अवस्थामा माओवादी बोक्नु पर्ने बाध्यता देखाइदिएको छ ।