Breaking

विदेशीको साथ पाए पछि स्वदेशी हौसिए, अध्यादेश आएपछि हट्यो अड्चन, लगानी सम्मेलन कति सफल ?


काठमाडौँ – दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । करिब ९ अर्बभन्दा बढीको लगानी स्वीकृत भएको लगानी सम्मेलनलाई लिएर निजी क्षेत्रले सन्तुष्टि जनाएका छन् ।सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुसमेत आर्थिक एजेण्डा र लगानी बढाउने कुरामा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको निजी क्षेत्रको दाबी छ ।

सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा हालै सम्पन्न तेस्रो लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको छ । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रुपमासँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको हो । तेस्रो लगानी सम्मेलनमा करिब ९ अर्बभन्दा बढीको लगानी स्वीकृतसमेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा गरेको छ ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भएपनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफलसमेत प्राप्त हुने आशा निजी क्षेत्रको छ ।सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरेअनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनहरु संशोधनसमेत गरेकाले थप आशा जागेको उनीहरुको भनाइ छ ।

सरकारले लगानी प्रवद्र्धन तथा सहजताका लागि प्रतिबद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र थप हौसिएको छ । सरकारले कानुन संशोधन मात्रै भन्दा पनि कार्यान्वनमा पनि तदारुकता देखाउन आवश्यक रहेको उनीहरुको माग छ ।

उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिबद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताइन् । उनले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानुनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाएर कानुन संशोधन गरेकोमा थप उत्साहित भएको जनाइन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताइन् ।सरकारले कानुनसंशोधन गरे पनि कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानी फस्टाउन मद्दत पुग्ने उनको भनाइ छ ।

फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताए । उनले हरेक लगानी सम्मेलनले लगानीको भाईब्रेट सिर्जना गरेको उल्लेख गरे । उनले सम्मेलनबाट मुलुकको लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताए । नेपाल लगानीका लागि सधँै आकर्षणको देश रहेको उल्लेख गर्दै लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताए ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीका लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताए । उनले लगानीका लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताए । सरकारले कानुनी समस्यालाई समाधानका लागि कानुनहरु संशोधन गरेर राम्रो काम भएको उनको भनाइ छ । कानुन संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको उनले बताए ।

लगानी सम्मेलनमा उल्लेख्य सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधिभन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको निजी क्षेत्रको भनाइ छ । लगानीका लागि नयाँ क्षेत्रमा युवालाई सहभागिता गराउने गरी सरकारले पनि सहजीकरण गर्न आवश्यक रहेको उनीहरुको सुझाव छ ।।