Breaking

प्रचण्डले धाउँदा पनि बनेन संसद भवन, ठेकेदार म्याद थप्दै पैसा कुम्ल्याउँदै, कहिले बन्ने–छैन टुुंगो


काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत मात्रै भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने पछिल्लो पटक थप गरिएको म्यादसमेत गुज्रिदा नयाँ भवनबाट संसद बैठक चलाउने लक्ष्य अनिश्चित बनेको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ । निर्माणाधीन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट आगामी संसद बैठक चलाउने संघीय संसद सचिवालयको चाहना अनिश्चित बनेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक रुपमै छिटोभन्दा छिटो संसद भवन निर्माणको काम सम्पन्न भएमा नयाँ संसद भवनबाट बैठक चलाउने चाहाना व्यक्त गरिरहेका छन् ।

तर संसद भवन निर्माणको काम सम्पन्न हुन नसक्दा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको चाहना अनिश्चित बनेको हो । सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ(भ्याटसहित) मा बन्न लागेको संसद भवन ३ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनेर २०७६ साल असोज १६ गते सम्झौता भएको थियो ।

सम्झौता अनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत्र १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो मिति पनि नाघिसकेको अवस्था छ । हाल भवन निर्माणका लागि पुनः म्याद थपको तयारी भइरहेको जनाइएको छ । राजनीतिक तहबाट पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिए पनि हालसम्म बैठक सञ्चालन नै गर्नेगरी परिणाम आइसकेको छैन । तर कहिलेसम्म सो स्थानबाट बैठक सञ्चालन हुनेछ भन्ने ठोस जवाफ न सम्बन्धित सरकारी निकायसँग छ, न त निर्माण व्यवसायीसँग नै छ । संघीय संसद सचिवालयसँग पनि यसको ठोस जवाफ छैन । यद्यपि भवन निर्माणको काम भने आफ्नै गतिमा अगाडि बढिरहेकै छ ।

संघीय संसद भवन परिसरभित्र १२ वटा भवनहरु निर्माणाधीन अवस्थामा छन् । प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस भवन, सवारी साधन पार्किङ भवन र सुरक्षाकर्मी भवन निर्माणाधीन अवस्थामा छन् । विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनले समग्रमा संघीय संसद भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत भएको जानकारी दिए । उनले १२ वटा भवनहरुमध्ये सबै भवनहरुमा छाना छाउने काम सम्पन्न भइसकेको बताउँदै प्रतिनिधि सभा र राष्ट्रिय सभाको लागि भने अन्य निर्माणका कामहरु भइरहेको उल्लेख गरे ।

आयोजना प्रमुख महर्जनले आफूहरुले छिटोभन्दा छिटो काम सक्न निर्देशन दिइरहेको बताए । हाल २५० जनामात्रै कामदारले काम गरिरहेको जानकारी दिँदै बाँकी काम सम्पन्न गर्नका लागि प्रतिदिन ६०० देखि ९०० जना कामदार परिचालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । आफूहरुले निर्माण व्यवसायीलाई कामदारको संख्या बढाएर काम गर्न पटक–पटक आग्रह गरेपनि सो अनुरुप हुन नसक्दा काममा ढिलाई भइरहेको उनले बताए ।

संघीय संसद सचिवालयले पनि नयाँ संसद भवनबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने कुरामा अनिश्चिता रहेको बताएको छ । सभाकक्षको निर्माण भएर मात्रै पनि बैठक बस्न नसक्ने भन्दै साजसज्जादेखि प्रविधि लगायत सम्पूर्ण प्राविधिक पक्षको निर्माण पूरा भएपछि मात्रै बैठक सञ्चालन गर्न योग्य हुने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले पनि निर्माण व्यवसायीहरुलाई छिटोभन्दा छिटो नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सक्नेगरी निर्माण सम्पन्न गर्न झक्झकाइरहेको दाबी गरेको छ । तर निर्माण कार्यले उल्लेख्य प्रगति लिन नसक्दा आफ्नै भवनबाट संसद बैठक सञ्चालन गर्ने संसद सचिवालयको चाहना अनिश्चित बनेको छ । २०७९ सालमा सम्पन्न आम निर्वाचनपछि नयाँ भवनमा नयाँ संसद बैठक बस्ने भनिए पनि निर्माण सम्पन्न नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बसेको थियो । अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै आएको भवन चीन सरकारको सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो ।