Breaking

साउदीमा नेपालले छोडेको छाप, अग्नि परीक्षामा सफल महिला टोली, फाइनलमा सधैँ अभागी


काठमाडौँ – जोर्डन छैटौं पटक वाफ महिला च्याम्पियनसिपको विजेता बन्दा पहिलो पटक सहभागिता जनाएको नेपाल उपविजेतामा नै सीमित भयो । हारका बाबजुद पनि प्रतिष्पर्धात्मक खेलमा उत्कृष्ट खेल कौशल देखाएका नेपाली महिला खेलाडीले फुटबलको हब बन्दै गएको पश्चिम एसियामा राम्रो छाप छोड्न सफल भएका छन् । जसले अभिभावक संस्था लुछाचुडीमा नै भए पनि खेलाडीहरूमा भने थप हौसला बढेको छ ।

साउदी अरबमा सम्पत्र वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएपछि नेपाल उपविजेतामै सीमित हुन पुग्यो । आमन्त्रित राष्ट्रको रूपमा साउदी पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली पेनाल्टी सुटआउटमा ५–३ ले चुक्दा उपाधिको नजिक पुगेर पनि खाली हात घर फर्कन बाध्य भएको हो । आठौं संस्करणको च्याम्पियनसिपमा छ पटक विजेता भइसकेको जोर्डनविरुद्ध नेपालले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा उपाधिको खडेरी थप लम्बिएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तथा प्रमुख खेलाडीको रुपमा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ बिना नै मैदान उत्रिएको नेपालले यसअघिका चारै खेलमा बेञ्चमा रहेकी साविता रानामगरलाई पहिलो रोजाईमा खेलाएको थियो । पाएको अवसरमा आफूलाई प्रमाणित गर्दै सविताले २९ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले खेलमा फर्काएको जोर्डनलाई फेरि ८९ औं मिनेटमा सराह अबु सब्बाहले नाटकीय गोल गर्दै जोर्डनलाई २–१ को अग्रता दिलाइन् ।

खेलको इन्जुरी समयमा डिबक्स क्षेत्रमा रेखा पौडेललाई जोर्डनी खेलाडीले लडाएपछि नेपालले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गीता रानाले २–२ को बराबरीमा ल्याइन् । निर्धारित समयमा दुवैतर्फ दुई÷दुईको बराबरी गोल भए पछि खेल टाइबे्रकरमा पुगेको थियो । जुन टाइब्रेकर नेपालका उपाधि बाधकको रुपमा सावित भयो । पेनाल्टी सुटआउटमा पछिल्लो क्रमको रक्षापंक्ति सम्हाल्दै आएकी अमृता जैसीको प्रहारलाई जोडनका गोल रक्षक सेरिन अल सलाबले विफल तुल्याएपछि नेपाल उपविजेतामा नै सीमित भएको थियो ।

प्रतियोगितामा नेपालको वास्तविक परीक्षा जोर्डनसँग नै थियो । किन भने यसअघि खेलिएका समूह चरणका तीन र एक सेमिफाइनलका प्रतिद्वन्द्वी नेपालभन्दा तल्लो वरीयताका थिए । १ सय ५ औँ वरीयताको नेपालले १५७ औँ स्थानमा रहेको सिरिया, १३० औँ स्थानको प्यालिस्टाइन र १४२ औँ स्थानको लेबनानलाई सहज तरिकाले परास्त गरेको थियो । त्यस्तै इराकको महिला टोलीलाई त फिफाको वरीयातामै समावेश गरिएको छैन । वरीयतामा रहेको मुलुकसँग कम्तिमा पाँच खेल खेल्नु पर्ने भए पनि इराकले ४८ महिनादेखि कुनै प्रतियोगिता नै खेलेको थिएन । त्यसैले ७४ औँ स्थानमा रहेको जोर्डनको महिला टोली विरुद्धको खेलमा नेपालको प्रदर्शन कस्तो रहला भत्रे सबै खेलप्रेमीमा चासो थियो । तर, नेपाली महिला टोलीले उपाधि हात पार्न नसके पनि आफ्नो अग्नि परीषामा भने आफूलाई सावित गरेको छ । जितको नजिक पुगेर कडा चुनौती दिएका नेपाली महिला खेलाडीले विपक्षीलाई सहजै नतिजा भने सुम्पिएनन् । निर्धारित ९० मिनेटसम्म विपक्षीलाई टक्कर दिँदै हम्मेहम्मे बनाएको थियो । तुलनात्मक रुपमा जोर्डनसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि नेपाली महिला खेलाडीमा अनुभवको कमी, मुख्य खेलाडी साम्बाको अभाव र भएकै खेलाडी पनि घाइते हुनु दुर्भाग्य बन्यो ।

योसहित नेपाल विभित्र प्रतियोगितमा गरी ११ वटा फाइनलमा पुगेरसमेत उपाधिबाट विमुख हुन पुगेको छ । तर, वाफ च्याम्पियनसिपको डेब्युमा नै नेपाल उपविजेता बन्दा एसियाली फुटबलको हब नै बन्दै गएको पश्चिम एसियामा नेपाली महिला खेलाडीहरुले सकारात्मक छाप छोड्न सफल भएका छन् । घरेलु मैदानमा खुट्टा चलाउने अवसर नपाएका नेपालका महिला फुटबल खेलाडीहरूले विदेशमा भने जादुमयी प्रदर्शन गर्नु कुनै उपाधि जित्नुभन्दा कम छैन । नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी भ्रष्टाचारमा लिप्त हुँदा भइरहेको महिला लिगलाई समेत पूर्णता दिन सकेका छैनन् । आफ्नो स्वार्थ पूर्तिका लागि चार महिनामा तीन पटक साधारण सभा गरेको एन्फाले फुटबललाई आफ्नो भान्छाको चुलो चलाउने माध्यम मात्रै बनाइरहेको छ । त्यसका बाबजुद पनि आफ्नै मेहनत र बलबुताले विदेशी भूमिमा आफ्नो खेल कौशल देखाएर लगातार गोलको वर्षा गर्दै देशको नाम उचो गर्न सफल नेपाली महिला फुटबल खेलाडीप्रति सम्मान प्रकट गर्ने पर्ने हुन्छ । आगामी खेलको भविष्य झनै उज्ज्वल रहोस् भन्ने कामनासहित नेपाली महिला फुटबल टोलीलाई हाम्रो पनि सलाम ।