मौसम

काठमाडौंमा वर्षा, कस्तो रहला भोलीदेखिको मौसम र ?


काठमाडौँ – काठमाडौँ उपत्यकामा यतिबेला हल्कादेखि मध्यम वर्षा भएको छ ।

उपत्यकामा आज राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। आज राति वर्षा भए पनि भोलि बिहान केही समय घाम लाग्ने र दिउँसो बदली हुने सम्भावना रहेको उनले बताइन्।

पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ। सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान र कर्णालीमा छिटपुट पानी परेको छ। लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।
शुक्रबार भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ। शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।