काठमाडौँ— जापान जाने लोभमा धादिङको दुर्गम हिमाली भेगको एउटा तामाङ परिवार आफ्नो जायजेथा गुमाएर उठिबास हुने अवस्थामा पुगेको छ।
धादिङको उत्तरी हिमाली क्षेत्र री गाउँमा कोदो, मकै, गहुँ, आलु बाहेकका अन्न फल्दैन। त्यहाँका बासिन्दा जंगलमा निगालो काटेर थुन्चे, मान्द्रो, डालो लगायत सामान बुन्छन्। ती सामान धादिङका मुख्य बजारदेखि कास्की, गोरखा, तनहुँ, लमजुङ, नुवाकोट जस्ता आसपासका जिल्लाका बजारमा बिक्री गरी केही रकम आर्जन गर्छन्।
कान्छीमाया तामाङको परिवारले पनि यस्तै दुःख गरेर केही रकम जोगायो र २०७४ सालमा पोखराको ग्यारजातीमा १६ लाख रुपैयाँमा चार आना घडेरी जोड्यो।
जापानमा राम्रो आम्दानी हुने भन्दै बहिनी धनकुमारीले खबर ल्याएपछि दिदीबहिनीले आआफ्ना छोराछोरीलाई त्यहाँ पठाउने सल्लाह गरे। धनकुमारीका दुई छोरी छन् भने कान्छीमायाका दुई छोरा; जेठो २१ वर्ष र कान्छो १६ वर्षका। धनकुमारीले दुवै छोरी प्रिस्किला, रेविका र कान्छीमायाले जेठो छोरो शक्तिमानलाई पठाउने भए। “छोराछोरी विदेश गएर कमाइदिए हामीलाई बुढेसकालमा आरामको जीवन होला भन्ने सोचियो,” कान्छीमाया भन्छिन्।
धनकुमारीसँग फेसबूक मार्फत चिनजान भएका अमृत भन्ने सुवास गुरुङले २०७९ कात्तिकतिर प्रतिव्यक्ति १६ लाख रुपैयाँमा जापान पठाइदिने र त्यसका लागि सात(आठ जना हुनुपर्ने बताएका थिए। गुरुङले आफू जापानमै रहेको र नेपालमा राधा थापा महतलाई सम्पर्क गरेर प्रक्रिया अगाडि बढाउने उपाय पनि बताइदिएका थिए। जापानको विमानस्थलमा मासिक चार लाख ८० हजार रुपैयाँ कमाइ हुने भनिएको थियो। त्यसपछि निरक्षर धनकुमारीको मन लोभियो। “हिमाली गाउँमा हामीले गरेको दुःख सम्झिएँ,” उनी भन्छिन्, “राम्रो कमाइ हुन्छ भने आफन्तहरूको पनि भलाइ होस् भनेर सबैलाई सुनाएँ। उनीहरू पनि जान तयार भए।”
४३ वर्षीया कान्छीमायाले छोरो शक्तिमानलाई पठाउने भइन्। ४० वर्षीया धनकुमारीले आफू सहित दुई छोरीलाई जापान उडाउने सपना देखिन्। कान्�


प्रतिक्रिया