Breaking

जनताबाट तिरस्कृत अनुहार राष्ट्रिय सभामा, गठबन्धनको बुई चढ्ने को–को ? मधेशमा सीकेको विद्रोह

कहाँ कसले मार्ला बाजी ?


काठमाडौँ – आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

रिक्त हुने १९ सिटका लागि ५२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन । सत्ता–गठबन्धन भर्सेस प्रमुख प्रतिपक्ष एमाले देखिएको राष्ट्रिय सभा निर्वाचनमा एकाध बाहेक अधिकांश नयाँ अनुहार देखिएको छ । नेताहरुबाटै छानिने राष्ट्रिय सभा निर्वाचनमा कहाँ कसले बाजी मार्ला ? सबैको चासो देखिन्छ । एक रिपोर्ट

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उप–प्रमुख मतदाता रहेको, अझ स्पष्टभन्दा आफ्नै नेताहरु मतदाता रहेको, निर्वाचन नतिजा लगभग निक्र्यौल भईसकेको राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुले सोमबार बडो तामझामका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २० गते रिक्त हुन लागेको १९ सिट पदपूर्तिका लागि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको चुनाव तय गरेको छ । राष्ट्रिय सभा चुनावमा भाग लिन १२ राजनीतिक दलले दल दर्ता गराए पनि त्यसको आधा अर्थात ८ वटा राजनीतिक दल चुनावी मैदानमा होमिने भएका छन् ।

खाली हुने १९ सिट राष्ट्रिय सभा सदस्यमा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदैछन् । दलगत रुपमा सिफारिस उम्मेदवारहरुले सोमबार आ–आफ्नो प्रदेश राजधानीमा उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसको तर्फबाट १० जना, माओवादी केन्द्रबाट ६, नेकपा एकीकृत समाजवादीबाट दुई , जसपा एक गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सबै १९ सिटमै उम्मेदवारी दर्ता गराएको छ ।


यस्तै, फरक समीकरण पनि बनाउन नसकेको गठबन्धनमा कोशी तुरुप फाल्दा पनि सफलता नमिलेपछि राप्रपाले आफ्नो औचित्य पुष्टि गर्नकै निम्ति भए पनि चार प्रदेशमा ९ जनालाई उम्मेदवार उठाएको छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न गठबन्धनले नपत्याएपछि सिके राउत नेतृत्वको जनमत पार्टी असन्तुष्ट मात्र भएन मधेश प्रदेशमा उम्मेदवार नै उठाएको छ । गठबन्धनविरुद्ध मधेश प्रदेशमा राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ ।

विषय विज्ञता, योगदान र प्रतिभा भएका व्यक्तिहरुको प्रतिनिधित्व हुनु पर्ने राष्ट्रिय सभामा दलिय भागबन्डाका आधारमा सिफारिस उम्मेदवारहरु अधिकांश नयाँ छन् । कुनै चमत्कार नै गरे बेग्लै कुरा तर नेताले नै नेतृत्व छान्ने राष्ट्रिय सभामा मतभार अन्तरले एमाले निल हुने निश्चित छ । हार्ने पक्का भएपछि अन्य चुनावमा हानथाप गर्ने पदाधिकारीदेखि नेताहरुले इच्छा नदेखाएपछि नयाँ अनुहारलाई हार्न उम्मेदवार बनाइएको छ । यता सबै प्रदेशमा जित्ने निश्चित गठबन्धनभित्र माओवादी केन्द्रले भने नयाँ अनुहार, युद्धमा घाइते भएका, पार्टीमा योगदान दिएकाहरुलाई प्राथमिकता दिइएको छ ।

आफ्ना आसेपासे वा नजिककाहरु उम्मेदवार बनाए पनि युद्धका घाइते चम्पा देवी कार्कीदेखि संविधान सभाको निर्वाचनमा माधवकुमार नेपाललाई नै चुनाव हराएका झक्कु सुवेदीलगायतलाई माओवादी केन्द्रले उम्मेदवार उठाएको छ । यता एक सिट मात्र पाएको जसपाले २०७९ को आम निर्वाचनमा प्रदेशमा पराजित पूजा चौधरीलाई सिधै राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

चुनावका हरुवा र भरुवाहरुलाई राष्ट्रिय सभामा पठाउने मामिलामा कांग्रेसले कीर्तिमान नै रचेको छ । लगातार दुई–दुई पटक जनताले नपत्याएका ७७ वर्षीय कृष्णप्रसाद सिटौलालाई कांग्रेसले राष्ट्रिय सभामा पठाएको छ ।

चुनाव हारेको १३ महिनापछि नै प्रतिनिधिसभाको अवधि चार वर्ष बाँकी रहँदै सिटौला राष्ट्रिय सभामा छिर्ने निश्चित छ । राष्ट्रिय सभाको अध्यक्ष बन्ने रणनीतिसहित सिटौला चुनावमा लड्दै छन् । पटक पटक राजावादीको निशानामा पर्दा संसद छिर्न नपाएका सिटौलादेखि संसदीय अनुभव बोकेका आनन्द ढुङगाना पाँचौ पटक सदन छिर्ने लाइनमा छन् । संसदमा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा काम गर्ने दाबी उम्मेदवारहरुको छ ।

सोमबार उम्मेदवार दर्ता भएसँगै मंगलबार दाबी विरोध र उजुरी, पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् ।