Breaking

राष्ट्रिय सभाको भागबन्डा गठबन्धनमा सकस, को–को छन् दाउमा ? (भिडियोसहित)


काठमाडौँ – आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सत्ता घटकहरु, गठबन्धनकै बलमा राष्ट्रिय सभा चुनावमा क्लिन स्वीप गर्ने रणनीतिमा छन् ।

फलत राष्ट्रिय सभा चुनावमा गठबन्धन दलकै उम्मेदवारको चर्चा छ । शीर्ष नेतृत्व दलिय भागवण्डाको रस्साकस्सीमा रहँदा संसदीय चुनावमा पराजित भएकाहरु पहुँच र पावरको भरमा राष्ट्रिय सभा छिर्ने दाउँमा छन ।

चुनावका लागि उम्मेदवारी मनोनयनको समय नजिकिँदै गर्दा सत्तारुढ गठबन्धन दलहरुभित्रको रस्साकस्सीले चुनावी सरगर्मी ह्वात्तै बढाएको छ । सत्ता घटकहरु, गठबन्धनको बलमा राष्ट्रिय सभा निर्वाचनमा क्लीन स्वीप नै गर्ने रणनीतिमा छन् । फलत उनिहरु एमालेसहित अन्यदललाई जिल्लै बनाउने भित्री रणनितिसहित भागबण्डामा छन् ।

सत्ता र गठबन्धनको सुविधाकै कारण चुनावमा जितको सुनिश्चितताले सत्तारुढ दलमा आकाक्षीहरुको लर्को थेगि नसक्नु छ । वडा अध्यक्षदेखि पार्टीका केन्द्रिय पदाधिकारी, पार्टीका प्रभावशाली नेताहरु राष्ट्रिय सभा छिर्ने दाउमा छन । जनताले संसदीय चुनावमै नपत्याएकाहरु समेत राष्ट्रिय सभा छिर्ने दौडमा देखिएपछि चुनावको चर्चा थप बढेको छ । राष्ट्रिय सभामा २० सिट खाली हुँदैछ तर आंकाक्षीहरुको लर्को सयौंको संख्यामा छ ।

गठबन्धनमै चुनाव लड्ने तर धेरै भाग हत्याउने पार्टीगत निर्णय गरेकोले गठबन्धनमा भागवण्डा गर्दा १० सिट पाउने देखिन्छ तर आकाक्षीहरुको संख्या झन्डै २० गुणा बढी छ । सत्तारुढ दल नेपाली कांग्रेसकै ५ सय बढी नेताहरु राष्ट्रिय सभामा आकाक्षी छन ।

चुनाव हारेका कृष्णप्रसाद सिटौला, सुजता कोइराला कोशी प्रदेश सिफारिसमा पहिलो नम्बरमा छन । चुनाव हारेका डिला संग्रौला, आङगेलु शेर्पा मात्र होइन टिकट नपाएका मिनेन्द्र रिजाल पनि सिफारिसमा छन । कृष्ण प्रसाद सिटौला र गोपालमान श्रेष्ठ राष्ट्रिय सभा अध्यक्षकै लविङमा छन । समानुपातिकबाट संसद छिर्न नपाएका आनन्द ढुङगाना, गोपालमान श्रेष्ठ, अब्दुर सत्तारहरु संसद छिर्न नेतृत्वसँग मरिहत्ते नै गरिरहेका छन । तथापी कांग्रेसको केन्द्रीय समिति बैठकले यसपटकको निर्वाचनमा नयाँ तर पार्टीमा योगदान गरेका र संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका स्वच्छ छविका व्यक्तिलाई टिकट दिने नेताहरुको दावी छ ।

नीतिगत निर्णय भन्दा सभापति देउवाको हुकुम चल्ने कांग्रेसभित्र अहिले आकाक्षीहरु देउवाको दैलोमा पुगेर झोली थापिरहेकाछन् । देउवाले तथास्तु भनिदिए राष्ट्रियसभाको ढोका खुल्ने संभावना बलियो हुने बुझेका उनिहरु देउवा फकाउन भगिरथ प्रयासमाछन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा पनि चुनाव हारेकाहरु नै हावी छन ।

माओवादीबाट चुनाव हारेका वरिष्ठ नेताहरु राष्ट्रिय सभामा जान लबिङ गरिरहेका छन । चुनाव हारेका गिरीराजमणि पोखरेल,मातृका प्रसाद यादव, चक्रपाणी खनाल देखि ललितपुर ३ बाट पराजित पम्फा भुसाल समेत राष्ट्रिय सभाको आकाक्षीमा गनिन्छन । त्यस्तै लिलामणि पोखरेल,रामनारायण विडारीदेखि सभामुख नै भइसकेका ओनसरी घर्ती मगर समेत आकांक्षी छन् । सभामुख भइसकेकाले ओनसरी ताकपर्दा राष्ट्रिय सभाको अध्यक्ष बन्ने दाउँमा छिन् ।

गठबन्धनको भागवण्डामा बढीमा ६ सिट पाउने सम्भावना देखिन्छ तर आकाक्षीहरु सयौंको संख्यामा छन । माओवादी केन्द्रले राष्ट्रिय सभामा घाइते, अपांगता भएका, अहिलेसम्म अवसर नपाएकालाई प्राथमिकता दिने दावी गरेको छ ।

सत्ता गठबन्धनका अन्य दलमा पनि चुनाव हारेका र टिकट नपाएकाहरु राष्ट्रिय सभा जान इच्छुक देखिन्छन । नेतृत्व रिझाएको भरमा पार्टीमा पहुँचको आधारमा विषय विज्ञता र प्रतिभाका आधारमा नभई चाकडी गरेको आधारमा नेतृत्वले खल्तीबाट पद बाँड्ने प्रवृत्तिका कारण पनि राष्ट्रिय सभा नेताहरुको व्यवस्थापन र पुर्नस्थापना गर्ने थलो बनेको छ । विज्ञहरुको थलो राष्ट्रिय सभालाई दलगत भागबन्डा र बाँडिचुँडी खाने थलोको रुपमा विकास गरिँदा राष्ट्रिय सभाको गरिमामाथि नै प्रश्न उठ्ने गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि फागुन ११ गते सकिँदै छ । एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ । दिनगन्ती गर्दा राष्ट्रिय सभाको चुनाव हुन अब २४ दिन बाँकी छ ।