Breaking

कांग्रेस–एमालेको भिडन्त उत्कर्षमा, रविविरुद्ध अरु दल थपिए, प्रचण्डलाई आई लाग्यो अर्को संकट


काठमाडौँ – संसदको अवरोध जुंगाको लडाइँमा परिणत हुँदा ठूला दलको भिडन्त ईगोतर्फ अघि बढेको छ । कसले कसलाई के देखाएर कसरी तर्साउने भन्नेमै उनीहरु लागि पर्दा त्यसले राष्ट्रिय राजनीति नै तरङ्गित बनेको छ । जहाँ सहकारी पीडितको पिडासमेत साँढेको जुधाई बाच्छाको मिचाईको हालतमा पुग्दा सत्ता र प्रतिपक्षले कसरी बढाँउदै छन् त घेराबन्दी ?

सहकारी काण्ड छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बटमलाइन कांग्रेसले तय गर्दा सत्ता र प्रतिपक्ष भिडन्तको स्थितिमा पुगेका छन् । जसको दृश्य विहीबारको संसदमै देखिएको छ भने यसले माहोललाई अझ तताईदिएको छ । हुन त संसदमा एकजना सांसद उठेमात्र पनि संसदीय काम कारबाही प्रभावित बन्नुपर्ने हो । तर प्रतिनिधिसभामा सबै विपक्षीहरू उभिएको र प्रमुख प्रतिपक्षी दलले रोस्ट्रम अगाडि गएर नारा लगाएको बेलामा सभामुखले बैठक अघि बढाए । सदनको विरोधलाई पेलेरै जाने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई गरेको आग्रहकै निरन्तरता भएको बुझाइमा कांग्रेस छ । जहाँ उनीहरुले आत्महत्या गरे पनि समिति नबन्ने एमाले नेताहरुको भनाइ छ भने प्रतिपक्षीलाई पेलेर कसरी अघि बढ्छ हेरौँला भन्नेमा कांग्रेस छ ।

जहाँ सभामुखसमेत ओलीको इसारमा चल्दा संसदमै कुटाकुट भएको हो भने यसले प्रतिपक्षी अझ आक्रामक बनेको छ । फलतः उसले सभामुखको ‘निष्पक्ष भूमिका’ माथि प्रश्न उठाउँदै विपक्षी दलहरूसँग ’मोर्चाबन्दी’को प्रयास गरेको छ । यहि बैठकले सहभागी विपक्षी दलहरूले सहकारीका विषयमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको मागमा समर्थन जनाउने निष्कर्षमा पुगेका छन् । त्यस्तै उनीहरूले सभामुख ‘तटस्थ नभएको’ भन्दै त्यसबारे सामूहिक रूपमा ध्यानाकर्षण गराउने निर्णय पनि गरेको नेताहरूले बताएका छन् । यो पक्षमा कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा देखिएको छ । त्यसमध्ये कांग्रेसले सडक र संसदमै भिड्ने बाटो अंगालिसकेको छ । यही कारण भ्रातृ र शुभेच्छुकलाई सडकमा उतारेको उसले छानविन समितिबाट पछि नहट्ने बताएको छ ।

उता सत्तारुढ दलहरु पनि मोर्चाबन्दीमै लागि परेका छन् । संसद् भवनमा विपक्षी दलहरूको बैठक चलिरहँदा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सत्ताधारी नेकपा माओवादी, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भएका थिए । जहाँ ओलीले सत्ताबाट हटाइदिएकाले आफूमाथि प्रहार भइरहेको बताईनै सकेका छन् भने रवि नै तयार भएपनि एमालेले छानविन समिति बनाउन नदिने जसरी प्रस्तुत भइरहेका छन् । यो आक्रामकता गिरिबन्धु टी इस्टेटको विषयमा सर्बोच्चको फैसला आएपछि अझ बढेको छ । यसरी भिड्दा कम्तिमा यो विषय ओझेलमा पर्ने आशामा त ओली छैनन् भन्ने यसले प्रश्न उब्जाउँदा संसद अवरोधमा रेकर्ड राखेको बिर्सेर उनी मुखको तितो पोखिरहेका छन् । यता रास्वपाले त कांग्रेस नेताहरुको फायल खोल्ने धम्की नै दिएको छ ।

को गलत को सहस् भन्ने बहस एक ठाँउमा भएपनि संसदमा पेलेरै जाने सत्ता पक्षको नीतिले मुडभेठ बढाइरहेको छ । संसद कै ठूलो दलसहितको प्रतिपक्षीलाई बेवास्ता गर्नु सत्ताको गल्ती देखिदाँ यो सबै सभामुखको काम र ओलीको नियतले तय गरिरहेको छ । जसले यो मुद्दा अब सहकारी पीडितको भन्दा सत्ताको भएको अझ प्रष्ट भएको छ । जहाँ एकअर्कालाई फसाउने धम्कीले कसरी काण्डहरुका फायलमा उनीहरुको सौदावाजी गर्छन भन्ने समेत छर्लङ भएको छ । जसमा नयाँ भनिएको रास्वपा नेताहरु समेत देखिँदा ईगोको लडाइँतर्फ संसदअघि बढेको छ भने नागरिका मुद्दा फेरि यिनीहरुकै जुंगाको लडाइँमा स्वाहा भएको छ ।