Breaking

सभामुखमाथि कालो टिका, ओली र धनराजलाई खोई कारबाही ? सांसद भिडाउने र लडाउने भूमिका ?


काठमाडौँ – सदनलाई मर्यादित रुपमा सञ्चालन गर्ने जिम्मा पाएका सभामुख देवराज घिमिरे आफैँले सांसदहरुबीच भिडन्तको अवस्था निम्त्याएको र उक्साउने गतिविधि गरेको प्रतिपक्षी दलले आरोप लगाएका छन् । तर, सत्तापक्ष भने सभामुखमाथि यस्तो आक्षेप लगाउनु राजनीतिक संस्कारको खिलाफ भएको तर्क गरिरहेको छ । यसबीचमा हिजो सदनमा जुन प्रकारको घम्साघम्सी र अभद्र व्यवहार भयो, त्यसमा को दोषी हुन् त ?

बिहीबार देशको सङ्घीय संसद्को प्रतिनिधिसभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बाहुबलको प्रदर्शन हुँदा सभामुख देवराज घिमिरे निरीह बने । पूर्वप्रधानमन्त्री तथा सदनको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो दल कांग्रेसका उपसभापति धनराज गुरुङले भौतिक रूपमा नै आक्रमणको प्रयास गरे । संसदमा हातपातको अवस्था सिर्जना हुँदा पनि सदनलाई अनुशासित रुपमा सञ्चालन गर्ने भूमिकामा रहेका सभामुख घिमिरे त्यसलाई रोक्न एक हिसाबले असमर्थ भए । गणतन्त्र स्थापना भइसकेपछि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि सांसद नै आक्रमणमा उत्रेको यो पहिलो घटना बनेको छ ।

आवेगले रन्थनिएर सदनमा रडाको मच्चाएको कांग्रेसका सांसदहरूबाट जोगाउन प्रधानमन्त्रीलाई संसद्माभित्रै सुरक्षा घेरा हाल्नु पर्ने स्थिति आउनु संसदीय अभ्यास गर्ने देशका लागि बिडम्बना नै मान्नुपर्छ । यदि सभामुखले दुई वा पाँच मिनेट सदन रोक्न ढिला गरेका भए सदनमा जस्तोसुकै अप्रिय घटना घट्न सक्ने परिस्थिति सिर्जना भएको थियो । तर, सदनलाई भिडन्तको थलो बनाउने काम सभामुखबाट नै भएको कांग्रेसको आरोप छ । वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा वा माग राख्दा सभामुखबाट जबर्जस्ती सदन चलाउने काम भएको र सभामुखले नै सांसदलाई उक्साहटमा ल्याएको कांग्रेससहित अन्य विपक्षी दलहरूले निष्कर्ष निकालेका छन् ।

त्यसो त यसअघि पनि कांग्रेस र माओवादीको गठबन्धन हुँदा सभामुख घिमिरे एमालेको इसारामा चलेको र निष्पक्ष हुन नसकेको भन्दै उनीमाथि महाअभियोग लगाउनेसम्मको छलफल चलेको थियो । सदनलाई अनुशासित र मर्यादित बनाएर चलाउने काम, कर्तव्य र अधिकार सभामुखको हो । तर, सदनमा ताण्डव नृत्य देखाएको कांग्रेससहित अन्य विपक्षी दलहरुले सभामुख घिमिरे दलीय चरित्रबाट माथि उठ्न नसकेको भन्दै उनको निष्पक्षतामाथि नै प्रश्न उठाइरहेका छन् ।

घिमिरेले सभामुखको भन्दा दलीय भूमिका निर्वाह गरेको आरोप प्रतिपक्षीले लगाइरहँदा सत्तारुढ एमालेले भने उक्त आरोप निराधार र अपरिपक्व भन्दै खण्डन गरेको छ । संसदलाई सन्तुलित ढङ्गबाट चलाउन खोजेका सभामुखमाथि जुन किसिमको लाञ्छना लगाइएको छ । त्यो राजनीतिक संस्कारविहीन भएको एमालेको तर्क छ ।

सदनमा हुने गतिविधिको जस÷अपजस सबै सभामुखले नै लिनु पर्छ । विगत दुई महिनादेखि पटक पटक संसद् अवरोध हुँदै आइरहेको र सहमति नभएकाले प्रतिपक्षीले यस पटक पनि अवरोध गर्ने जानकारी हुँदाहुँदै पेलेरै बैठक सञ्चालन गर्न खोज्नु सभामुख घिमिरेको पनि कमजोरी देखिन्छ । जसको परिणाम स्वरुप बिहीबार संसदमा अमर्यादित, अलोकतान्त्रिक र गैरसंसदीय गतिविधिको अभ्यास भयो । त्यो घम्साघम्सीको जिम्मेवार सभामुख नै हुनु पर्ने विश्लेषकहरुको पनि बुझाई छ ।

सत्ता पक्षले कालो दिनको रुपमा व्याख्या गरेको उक्त घटनालाई विपक्षीले सभामुखको कार्यशैलीको परिणामको रुपमा चित्रित गरेको छ । यद्यपि, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही नहुने विगतका दिनहरूले पनि पुष्टि गरिसकेको यथार्थ हो । त्यसैले अहिले जति नै एकअर्काप्रति दन्तबजान गरे पनि भोलि सत्ता समीकरणका लागि तिनै दलहरू कुममा कुम जोडेर हिँड्ने गरेको विगतका घटनाक्रमले पनि देखाइसकेको छ । तर, सभामुखकै कमजोरीका कारण दुई ठूला दलबीच सदनमा भएको ताण्डवले उनको छविमाथि नलाग्नु पर्ने दाग भने लाग्न पुगेको छ ।