Breaking

अर्को ठूलो भूकम्पको डर, पश्चिम नेपाल किन निशानामा ? विज्ञहरु नै डराए


काठमाडौँ — पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युडको भुकम्प गयो । रातको समयमा गएको शक्तिशाली भुकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । बझाङमा ६.३ म्याग्निच्युडको भुकम्प गएको महिना नवित्दै गएराति जाजरकोटमा भूकम्प गएको हो । नेपालको यो क्षेत्र अझै पनि भुकम्पको जोखिममा रहेको भुकम्पविद्को भनाई छ । पश्चिम नेपालमा लगातार भुकम्प किन गईरहेको छ त ? गत असोज १६ गते सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भुकम्प गएको थियो ।

स–साना परकम्पहरु गई नै रहेका थिए । बझाङमा भुकम्प गएको महिना नवित्दै शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुकम्प गयो । रातको समयमा गएको शक्तिशाली भुकम्पका कारण जाजरकोट र रुकुममा ठुलो जनधनको क्षति भएको छ । पछिल्लो समय पश्चिम नेपाल लगातार भुकम्पको परकम्प र समय–समयमा शक्तिशाली भुकम्प केन्द्र बनिरहेको छ । २०७९ मा कार्तिक २३ गते डोटी केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर र ६ दशमलव ६ रेक्टरको भुकम्प गएको थियो । डोटीमा गएको भुकम्प वर्षकै सबैभन्दा ठुलो भुकम्प समेत हो ।

त्यस्तै बाजुरा, दार्चुला, अछाम, डोल्पा लगायतका विभिन्न जिल्लाहरुमा परकम्पहरु निरन्तर जस्तो गईरहेका छन् । भुइँचालोका परकम्पहरु लगातारजसो जाने गरेको तथ्याङ्क राष्ट्रिय भुकम्प मापन केन्द्रको छ । बैतडी, मुगु, दैलेख, अछाम, दार्चुला, रुकुम पश्चिम, डोटी जुम्ला लगायतका जिल्लामा ४ रेक्टरमाथिका भूकम्पका परकम्प लगभग निरन्तर जस्तै छन् ।

सन् १५०५ मा ८.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यस क्षेत्रको भुसतहमा इन्डियन प्लेट र तिब्बतियन प्लेट एक–आफसमा घर्सिरहेका छन । तर त्यसबाट उत्पन्न हुने शक्ति बाहिर निस्किन पाएको छैन । त्यो शक्ति सञ्चय भएर बसेको छ । अर्थात भूकम्पीय शक्ति थुप्रिएर बसेको छ । ५ सय २० वर्षदेखि थुप्रिएर बसेको भुकम्पिय शक्ति बाहिर आउन महाभुकम्प नै जानुपर्ने विज्ञहरु बताउँछन ।

एकपछि अर्को भुकम्पको धक्काले सर्वसाधरण आतंकित छन् । लामो समयदेखि थुप्रिएर बसेको भुकम्पिय शक्ति स–साना परकम्प आउँदैमा सकिँदैन । महाभुकम्प नगएसम्म यो क्षेत्र भुकम्पको जोखिममा नै रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । त्यसैले भुकम्प गएपछिको विपत्त व्यवस्थापन साथ साथै भुकम्पिय जोखिम न्यूनिकरण गर्न भौतिक संरचना निर्माण र जन–समुदायमा सचेतना जगाउने जस्ता पूर्वतयारीमा सरकार गम्भिर बन्नुपर्ने विज्ञहरुको सुझाव छ ।

दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने जोखिमपूर्ण क्षेत्रमा पर्छ । २०७२ सालमा ७.८ म्याग्निच्युडको गोरखा भुकम्पको परकम्प दोलखासम्म पुगेको थियो । कार्तिक ५ गते धादिङको खरी केन्दविन्दु बनाएर ६ दशमलव १ रेक्टरको भुकम्प पनि गोरखा भुकम्पकै परकम्प भएको विज्ञहरुले बताएका छन । तर पश्चिम नेपाल क्षेत्रमा भने सञ्चित भएकाले भुकम्प नगएको क्षेत्रको कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।