काठमााडौँ — संसद्को अत्याधिक मत पाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास जितेका छन् । दुई सांसदबाहेक सबैको समर्थन पाएपछि संसद प्रतिपक्षविहिनकै अवस्थामा छ ।तथापी चित्रबहादुर केसी र प्रेम सुवालको अडानले संसदलाई अस्तित्वमय बनाएको छ । चित्रबहादुर केसीको चित्रमा यो संसद विचित्रको देखियो । न संसद्मा खबरदारी गर्ने कोही देखिए, न सत्ताको स्वाद चाख्नबाट कोही पछि हट्ने चाहे । तर सत्ता नै अन्तिम सत्य होइन भन्ने बुझेका चित्रबहादुर केसी ८० बर्षको उमेरमा हल्लिएका दाँतहरुलाई कस्दै, लरखराएको जिब्रोलाई सम्हाल्दै खरो प्रतिपक्षमा स्पष्ट बोल्ने दरिलो अडानमा उभिएका छन् ।
जुनसुकै मूल्य चुकाएर सरकारमा जानैपर्छ, चुनावमा गरेको खर्च उठाउनैपर्छ भन्ने पक्षमा संसदको ९९ प्रतिशत अर्थात उपस्थिति २७० मध्ये २६८ जना उभिएका छन् । मात्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन् । कल्पना गर्नुस् त, भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खरो गर्जन प्रतिपक्ष बेञ्चबाट सुन्न पाएको भए, सरकारको मुटु कसरी हल्लिन्थ्यो होला ? राजेन्द्र लिङ्देनको भ्रष्टाचार गर्नु आमा रगत खानु समान हो भन्ने आवाज संसदको प्रतिपक्षी बेञ्चबाट सुन्न पाएको भए, संसदमै भएका भ्रष्टाचारी पनि बैठक छोडेर भाग्ने अवस्था आउँथ्यो होला ।
वा भ्रष्टाचार जस्ता बेथेतिकै विरोध गर्दा जुम्ली जनताले पत्याएका ज्ञानेन्द्र शाहीको चर्काे हुंकार संसदको प्रतिपक्षी बेञ्चबाट सुन्न पाएको भए, उनी युब्टुवमा अझै कति छाउथे होला । मलको कुरा गर्दा जनताले उठाएका सीके राउतको वैज्ञानिक कुरा संसदको प्रतिपक्षले सुन्न चाहेको थियो । गगन थापा र विश्वप्रकाश शर्माको जस्तो प्रखर आवाज संसदको प्रतिपक्षमा हुन्थ्यो भने यो सरकारले गर्ने आधा गलत काम यसै कम हुन्थ्ये । तर उनीहरु आज हेर्नुस् त, उही बुढो अनुहारको पछि लालच मन लिएर घुमिरहेका छन् । अझ भनौं हात थापेर मागिरहेका छन् ।
चित्रबहादुर केसीले विदेशिने युवाको कुरा गर्दा विदेशिएका युवाकै सपना बनेर उदाएका रविको मन रसायन होला ? उनी त चाहन्थ्ये राहदानीको लाइनमात्रै घटाउने होइन, विमानस्थलबाट खाडी भाँसिने युवाको जमात नै रोक्ने हो । यो काम रविले सरकारमै भएर पनि गर्न सक्छन् । तर शक्तिशाली समर्थनसहित संसदको सबैभन्दा विश्वासिलो मत पाएका प्रधानमन्त्री प्रचण्डले भोलि स्वार्थ बाँझिने मुद्धामा रविले कदम उठाए सरकारबाटै उठिबास लगाइदिनसक्छन् । गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीको चाहना विपरित रवि चल्न पाउनेछैनन् ।
जसको उदाहरण यही संसदमा देखिएको छ । प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रत्येक संसदमा गृहमन्त्री रविकै वरिपरि हुन्छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि कोइरी संसदमै थिए । तर प्रहरीले पक्राउ गर्न खोजिरहेका हत्या अभियोगी सांसदका बारे रवि मौन छ । जबकि त्यही संसदमा पहिलोपटक बोलेको रविले सुशासन र अपराधी संरक्षणमा मलाई गुहार्न नआउनुहोला भनिदिए । अब बोलेर मात्रै पनि नहुने रहेछ भन्ने प्रमाणित उनकै भनाइले गरेको छ । यसले रविको छबिलाई समेत स्वस्थ राख्नेछैन । सायद उनी एमाले अध्यक्ष ओलीको दबाबमा परेका छन् ।
यसैकारण उनी अपराधीकै संरक्षण गर्न विवश छन् । अब भन्नुस्, उनलाई यो सरकारले कति काम गर्न दिन्छ ? उद्योग कलकारखाना बेचेर खाने पनि नेताहरु नै थिए । बाँचुञ्जेल सत्ताको चास्नीमा डुब्ने रहरले राज्यको ढुकुटी पनि रित्तिदै गएको छ । अब मरेपछि पनि कात्रो किन्ने पैसा कमाइदिन प्रत्येक दिन २ हजारको दरले युवाहरु विदेशिन बाध्य छन् । यसमा आवाज कसले उठाईदिन्छ ? बोल्न त गगन–विश्वप्रकाशहरु बोल्लान, तर छात्ति पिटेर बोल्नु र पुच्छर लुकाएर बोल्नुमा फरक पर्नेछ ।
किनकि न उनीहरु प्रतिपक्ष हुन्, न कसैको विरोध गर्ने पक्षमा उभिएका छन् । काँग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्छु भन्नु मासु खान्न तर मासुको झोल चाहीँ चाहिन्छ भन्नु हो । उसले प्रचण्डलाई विश्वासको मत दिएकोमा पनि हाम्रो आपत्ति होइन, प्रचण्डले किन यतिधेरै विश्वासको मत पाए ? यो पनि चिन्ताको विषय होइन । उनी त इतिहासकै दूर्लभ अवसर पाएर प्रधानमन्त्रीमा आसिन छन् । चिन्ता जवाफदेहिताको हो । जनताका मुद्धाको हो ।
किनकि यो संसदमा देखिएका सबैको अनुहार हेर्नुस् त, सबका अनुहारमा लोभ देखिन्छ, लालच देखिन्छ । सत्ताप्रतिको आशक्ति देखिन्छ । अब प्रतिपक्ष कमजोर हुँदा जनताको आवाज कमजोर हुन्छ भन्ने कुरा चित्रबहादुर केसी र प्रेम सुवालबाहेक अरुलाई कसले बुझाईदिने ?
प्रतिक्रिया