Breaking

ससंस्दको पहिलो बैठक, साना दलको गर्जन, कसले के भने ?


काठमाडौँ — आम निर्वाचनपछि पहिलोपटक बसेको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । नवनिर्वाचित१२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेका सदनको आजको बैठकलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले जनताको पक्षमा कामगर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा दलका शीर्ष नेताहरुले आ–आफ्नो पार्टीको तर्फबाट जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

साथै राजनीतिक दलको अबस्था र सत्ता समीकरणमा आएको बदलाभप्रति पनि शीर्ष नेताहरुले व्यङ्ग्य कस्न भ्याएका छन् । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएलगत्तै रोष्टममा उक्लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरु सामू जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे । जनताले आफूहरुलाई सुशासन र समृद्धिको सर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उनले त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताए । जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत प्रचण्डले व्यक्त गरे ।

प्रचण्डले नयाँ दलहरुको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको रुपमा लिएको र संसदले त्यसलाई नयाँ पूँजीको रुपमा लिनुपर्ने बताए । उनले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।त्यसैगरीनेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै यसलाई उठाउन सरकारको ध्यान पुग्नुपर्ने बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको पनि बताए । उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको बताए । उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए । उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभइ काम गर्ने बाटो समात्न आग्रह गरे ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए । उनले सबै पक्ष आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी रहेको पनि बताए । साथै उनले अघिल्लो कार्यकालमा दुई दुई पटक संसद् विघटन भएको स्मरण गराउँदै यस कार्यकालमा संसद्ले त्यस किसिमको अलोकतान्त्रीक र असंवैधानकि कार्यको सामना गर्नुपर्ने अवस्था नआओस् भन्ने कामना पनि गरे ।

देउवाले संसद् विघटनको प्रसंग कोट्याएपछि एमाले अध्यक्ष ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका थिए । प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर भ्रम छरिएको भन्दै ओलीले बेलायतमा पनि पटक पटक संसद् विघटन हुने गरेको र त्यहाँ प्रतिगमन नभएको विम्भ प्रयोग गर्दै आफ्नो कदमको बचाउ गरे । उनले संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन नभएको जिकिर गरे ।