Breaking

चुनावको सरगर्मी चढेसँगै ओलीमाथि गगन र विश्वप्रकाशको प्रहार, प्रचण्ड काँग्रेससँग असन्तुष्ट


काठमाडौँ – लामो रस्साकस्सी र अन्योलपूर्ण अवस्थालाई चिर्दै स्थानीय तहको निर्वाचन तोकिएकै मिति हुने भएपछि दलहरु चुनाव केन्द्रीत बनेका छन् । उनीहरुका अभिव्यक्तिसमेत एकले अर्काे पछि पार्दै आफू पहिलो बन्ने तयारीका साथ आइरहेका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनाउने निर्णय गरेपछि आत्तिएको झैँ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आपत्ति जनाए । कमजोर आँखा भएकाहरुले रुखै रुखै देखोस् भनेर हरियो रङ बनाइएको हो? भन्दै उनले प्रश्न गरे ।

यदि त्यसो हो भने आफूलाई स्वीकार्य नहुने उनले बताए । एमाले अध्यक्ष ओली यतिकैमा रोकिएनन् । बुधबार पनि हरियो रङ र नेपाली काँग्रेसप्रति लक्षित गर्दै भने, काँग्रेसले चुनावमा हार्छु भन्ने जानेरै रङ परिवर्तन गरेको हो ।

प्रमुख प्रतिपक्षबाट यतिसम्मको आरोप खेपिसकेपछि अब सत्ता गठबन्धनको नेतृत्व गरेका काँग्रेसीहरु पनि चुप बस्ने कुरै भएन । विगतमा ओलीका जोकमाथि झोक निकाल्दै चर्चाको भोग बटुल्ल सिपालु मानिएका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिवादमै उत्रिए ।

थापाले मंगलबारकै एक कार्यक्रममा बैशाख ३० को निर्वाचनमा हार्नलाई तयार भएन बस्न एमालेलाई चेतावनी दिए । शर्माले बुधबारमात्रै ओलीको हरियो रङ लक्षित अभिव्यक्तिलाई लिएर जवाफ दिए । उनले भने, विभाजित पार्टी हरियो देख्दा पनि तर्सिन्छ ।

लामो रस्साकस्सी र अन्योलपूर्ण अवस्थालाई चिर्दै स्थानीय तहको निर्वाचन तोकिएकै मिति बैशाख ३० मा हुने भएपछि दलहरुमा यो तहको सरगर्मी चढेको हो । कोही हारको मानसिकताबाट अघि बढेका छन् भने कोही जितको आत्मविश्वाससहित ।

मुख्य प्रतिस्पर्धी एमाले भएपनि हालै मात्रै विभाजित बनेको फाइदा उठाएर काँग्रेस ढुक्क भएर स्थानीय तहको निर्वाचनमा होमिदैछ । उसले गठबन्धनबीच नै तालमेल नभएपनि तात्विक फरक नपर्ने आँकिरहेको छ ।

यसैकारण नेताहरु खुलेआम चुनावी तालमेल नहुने भन्दै गठबन्धनकै दलहरुलाई चिढ्याईरहेका छन् । तर यसबाट हेपिएको महसुस गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले बोकेर सिंहदरबार छिराएको काँग्रेसले आफैलाई हेप्न थाले सह्य नहुने चेतावनी दिएका छन् ।

चिनियाँ राजदूत होउ यान्छीसँग भेटे लगत्तै ललितपुर पुगेर भाषण गरेका प्रचण्ड ३६० डिग्री नै परिवर्तन भएर काँग्रेसमाथि आक्रामक बनेका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री देउवाले गठबन्धन र प्रतिपक्षको चित्त दुख्ने गरि नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

तर दोस्रो तहका नेताहरु भने चुनावमा गठबन्धन नगरी जाने आफ्नो अडानमा अडिग रहदै नेताहरुमाथि प्रहार गरिरहेका छन् । मुलतः एकले अर्काेलाई कमजोर पार्न र आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्ता तानातान मात्रै होइन लोकप्रिय चुनावी एजेन्डा र अभिव्यक्तिमा समेत आक्रामक बनिरहेका छन् ।

प्रतिपक्षलाई एकछिन पाखा लगाएर हेर्ने हो भने, मुख्य प्रतिपस्र्धा गठबन्धनभित्रै छ । जे होस् यसले मतभेद्मै रुमलिएका दलहरु अब चुनाव केन्द्रीत बनेको स्पष्ट संकेत गरेको छ ।