कोरोना विशेष

भेरोसिल खोपको मौज्दात कम, पहिलो डोज कोभिसिल्ड दिन स्वास्थ्य विभागको निर्देशन


काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरूलाई कोभिसिल्ड–एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउने सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो ।

पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको हो ।

हाल कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकलाई बुस्टर डोज दिन थालिएको छ ।