समाचार

शालीनदी मेलामा दर्शनार्थीलाई निषेध


काठमाडौँ – शालीनदीमा लाग्ने एक महिने मेलामा सर्वसाधारणका लागि निषेध गरिएको छ । मेला सञ्चालन गर्दा मापदण्ड विपरीत हुने भएको हुँदा शंखरापुर नगरपालिकाले मेलामा सर्वसाधारणका लागि रोक लागएको हो ।

तीव्र रुपमा फैलिरहेको कोरोनालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार नगरपालिकाले मेला बन्द गर्ने निर्णय गरेको हो । शालीनदी मेला व्यवस्थापन मूल समन्वय समितिको बुधबार बिहान बैठक बसेको थियो । सोही बैठकले मेलामा रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौँसहित उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार राति विज्ञप्ति जारी गर्दै बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन्। आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरिएको छ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाउँदै धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थनामात्र गर्न आदेश दिएका छन्।

उक्त आदेशअनुसार पशुपतिनाथलगायतका मन्दिरमा बुधबारदेखि परम्परागत नित्य पूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ।