समाचार

भारतबाट स्वदेश फर्कनेको संख्यामा ह्वात्तै वृद्धि


काठमाडौँ – भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् ।

बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् ।

खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उनले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताए । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।