राजनीति

भीम रावलसँग कुनै खालको मतभेद छैन, एमाले सदूरपश्चिमको इन्चार्ज मै हुँ : लेखराज भट्ट


काठमाडौँ – नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताउनुभएको हो ।

प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले सुदूरपश्चिमको इन्चार्जमा आफू, अध्यक्षमा कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावलले सहजीकरण कार्यदलको नेतृत्व गर्ने पनि बताउनुभयो ।

नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुनै खालको मतभेद नरहेको दावी गर्नुभएको छ । एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उहाँले विवाद नभएको जिकिर गर्नुभयो ।