खेलकुद

एन्फाको विवादमा छानविन समितिले बुधबार प्रतिवेदन बुझाउने


काठमाडौँ – एन्फामा देखिएको विवादबारे छानविन गर्न गठित सात सदस्यीय समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । समितिले तोकेको समयसीमाभन्दा सात दिन बढी लिएर प्रतिवेदन बुझाउन लागेको हो ।

पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको समितिले दुई पक्ष बोलाएर सहमति जुटाउन प्रयास गरेको थियो । सात दिनको अवधिमा दुबै पक्षबीच सहमति जुट्न नसक्दा छानबिन समितिले सात दिन थप गरेको थियो । समितिले घटनामा संलग्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसहित १४ जनाको बयान लिएको थियो ।

समितिका सदस्य सुर्वण श्रेष्ठले छानबिनको सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन बुधबार बुझाउने समितिको तयारी रहेको बताएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबाट बयान सुरु गरेको समितिले अन्तिममा घटनाका केन्द्रीय पात्र वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकसँग सोधपुछ गरेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले काम गर्ने वातावरण नपाएको भन्दै राजीनामा दिने बताएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबल विवादका लागि गत साउन १९ गते लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।