कोरोना विशेष

विज्ञ भन्छन् : फेरि नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ (भिडियोसहित)


काठमाडौँ – सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नियन्त्रणमा आउनुको साटो नयाँ नयाँ भेरियन्ट देखा परिरहेको छ । संक्रमणदर कहिले नियन्त्रणमा आउने हो टुंगो छैन् । संक्रमण नियन्त्रण हुनुको साटो झन झन बढ्दै गएको छ । यता विज्ञहरुले संक्रमणले फेरि पनि भयावह रुप लिन सक्ने चेतवानी दिएका छन् ।

कोरोना भाइरसको त्रास अझै पनि विश्वभर कायम नै छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका नयाँ नयाँ भेरियन्ट देखा परिरहेका छन् । यो भाइरस कहिले नियन्त्रण हुने हो अनुमान लगाउन सक्ने अवस्था छैन ।

विश्वभरको तथ्याङक हेर्ने हो भने बिहिबारसम्म ४४ लाख ६ हजार ४१ जनाले ज्यान गुमाइसकेका छन् भने २१ करोड १४ लाख ६ हजार ५ सय ५५ जना संक्रमित भइसकेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । अहिले नेपालमा बुधबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३९६ पुगेको छ । ७ लाख ३९ हजार ९ सय ७ जना संक्रमित भइसकेका छन् । सुरुवाती दिनमा एक वा दुई जना कोरोना संक्रमित भेटिदा निकै त्रास हुन्थ्यो । तर नेपालमा पनि यो भाइरसले भयावह रुप नै लियो ।

सबैलाई लागेको थियो कि यो भाइरस छिटै नै नियन्त्रणमा आउछ । तर, डेढ वर्ष पुग्दा पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन् । नेपालमा गएको वैशाख महिनामा कोरोना संक्रमणमा ठूलो उतारचढाव आएको थियो । अक्सिजन भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो । त्यसपछि विस्तारै ओरालो लाग्दै गएको कोरोना भाइरस केहि सातायता २० देखि २५ प्रतिशतको बीचमा रहँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकले देखाउँछ । तर, सर्वसाधारणको लापरबाहीले भयावह रुप लिने सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड महामारीको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपणबीच सक्रमण दर अझै घट्न नसक्नु चिन्ताको विषय हो । दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । नागरिकहरुले पनि जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेकाले संक्रमण घट्नुको साटो बढ्दै गएको विज्ञहरु बताउछन् ।

कोरोना संक्रमणविरुद्धका खोप नेपालमा सर्वसुलभ हुन सकेको छैन । खोप लगाएकामा पनि संक्रमण नहुने शतप्रतिशत ज्ञारेन्टी छैन । समुदायमा संक्रमण फैलिरहेको अवस्था छ । त्यसैले आम सर्वसाधारण पनि परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउन सकिन्छ भन्नेमा सचेत हुनुपर्ने आवश्यकता छ । लापरबाही बढिरहे कोरोना संक्रमण भित्रभित्र भुसको आगो झैं नफैलेला भन्न सकिदैन ।