राजनीति

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा खोप भण्डारण केन्द्रको निरीक्षण


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप भण्डारण केन्द्रहरूको निरीक्षण गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रको अवलोकन गरेको निजी सचिवालयले जनाएको छ । निरीक्षणका लागि स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल र प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि गएका थिए ।

‘आज म लगायत स्वास्थ्यसचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहको टोलीले टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छौं’, राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै भनेका छन् ।

‘खोप भण्डारणको अवस्था, भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइने श्रेष्ठले जनाएको छ । नेपालमा अहिलेसम्म ७५ लाखभन्दा बढी मानिसले खोप लगाइसकेको उल्लेख गरेका छन् । साथै उनले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवादको पात्र रहेको बताए । उनले भने ‘खोप अभियानलाई तीव्रता दिन अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आपूर्ति व्यवस्थापक लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ यससँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले सम्बन्धित म्यानपावरबाटै समयमै फर्म भराई कोभिड–१९ पूर्ण खोपको विधुतीय प्रमाण प्राप्त गर्नुहुन पनि आग्रह गरे ।