देश

प्रहरी प्रधान कार्यालयबाटै प्रश्न पत्र चोरी


काठमाडौँ – शुक्रवार र शनिवार भएको प्रिस्याट परीक्षाको प्रश्न पत्र चोरी भएको छ। प्रश्न पत्र प्रहरी हेडक्वाटरबाट नै चोरी भएको खुल्न आएको छ ।

शनिवार प्रश्नपत्र आउट भएको जानकारी पाएपछि अन्य परीक्षार्थीले गुनासो गरेका थिए। त्यसपछि एक घण्टा ढिलो गरेर परीक्षा गरिएको थियो। शनिवारको अन्तिम सिफ्टमा भएको परीक्षाको प्रश्नपत्र लिक भएको हो। त्यसपछि एक घण्टा ढिलो गरेर साढे २ बजेतिर पुनः प्रश्नपत्र सेट गरेर परीक्षा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

यो परीक्षा राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिने गरिन्छ । यो परीक्षा उत्तीर्ण गरेपछि मात्र मिसनमा जान पाइन्छ। मिसनमा जाँदा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले प्रहरीहरूको आकर्षण त्यसमा देखिन्छ। प्रिस्याट परीक्षा पास गरेपछि मात्र स्याट परीक्षा लिइन्छ।

शुक्रवार र शनिवार गरेर प्रहरी प्रधान कार्यालयमा एक हजार ४ जना प्रहरीको प्रिस्याट परीक्षा लिएको थियो। शुक्रवार दुई सिफ्टमा २ सय ५० जनाको दरले परीक्षा भएको थियो। शनिवार पनि दुई सिफ्टमा त्यति नै परीक्षार्थी थिए। उक्त परीक्षामा जवानदेखि एसपीसम्मलाई सामेल गराइएको थियो ।

यसरी युएन मिसनको प्रश्न पत्र चोरी हुनु नौलो कुरा भने होइन । यसअघि भएका परीक्षाको पनि प्रश्नपत्र आउट भएका थिए।

युएन मिसनमा जानको लागि लिने परीक्षाको प्रश्न सेट युएन शाखाले बनाउने गर्छ । घटना बाहिरिएपछि डिआइजी वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनेको छ। समितिले तीन दिनदेखि अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा युएन शाखाकै एक कर्मचारी संलग्न भएको र अन्य दुई जना प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।