समाचार

निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले मेरो सरूवा गरे : डा. गौतम


काठमाडौँ – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई सोमबार थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो । गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ ।

डाक्टर गौतमले आफूलाई काठमाडौँका निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको बताउनुभयो । गौतमले आफूले वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखामा परेको पनि बताउनुभयो । ‘वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो। किनकी काठमाडौँमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उहाँले भन्नुभयो । अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले पनि आफूलाई मन नपराएको उहाँको तर्क छ ।

‘प्रसुति अस्पतालमा राम्रो काम गरेको भनेर मलाई मन्त्रालय लगिएको थियो । त्यहाँ पनि मैले राम्रो काम गरें । युनिफाइड अस्पताल चलाउनु पनि कठिन थियो । यसले सक्छ भनेर नै मलाई पठाइएको थियो । त्यहाँ पनि मैले राम्रो काम गरिरहेको थिएँ,’ डाक्टर गौतमले भन्नुभयो ,‘काम गर्दागर्दै सरूवा भयो । यहाँ काम नगर्नेले जागिर खाइरहन्छन् । काम गर्नेको सरूवा हुन्छ । यसमा मेरो भन्नु केही छैन।’