कोरोना विशेष

निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भीडभाड

वंगलादेशमा डेल्टा भेरियन्टको कारण संक्रमणदर आक्रमक रुपमा बढेकोले पुन कडा खालको लकडाउन लागु गरिएको छ ।


काठमाडौँ – निषेधाज्ञा खुकुलो पारिएसँगै काठमाडौंका विभिन्न ठाउँमा यतिधेरै भीडभाड बढेको छ । संक्रमण जोखिम कमगर्न हिडडुल कम गर्नु पर्नेमा उल्टै सयौं मानिसहरु एकैठाउँ भेला हुँदा संक्रमणको जोखिम डरलाग्दो रुपमा बढ्ने देखिन्छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर पुनः बढ्न थालेकोले सर्तकता रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो पारिएसँगै काठमाडौँ उपत्यकाका बजारमा सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । सरकारले सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगै बजारमा भीडभाड बढ्न थालेको हो । असन, इन्द्रचोक, न्युरोड र सुन्धारा लगायत स्थानमा बाक्लो भीड बढेको छ । मानिसहरूको चहलपहल र गतिविधि हेर्दा लाग्छ नेपालमा कोरोना संक्रमणको कुनै जोखिम नै छैन ।

कोरोना संक्रमण केहि ओरोलो लागेसंगै सरकारले निषेधाज्ञा खुकुलो पारे पनि पछिल्ला दिनहरुमा पुनः संक्रमण दर बढ्न थालेको छ । बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोरङ, सुनसरी, झापा ,काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक , नुवाकोट , कास्की , नवलपरासी (पूर्व), बर्दिया सुर्खेत ,कैलालीमा ५ सय भन्दा माथि उपचारार्थ सक्रिय संक्रमितहरु रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले काठमाडौँमा त्राश बढिरहेको भन्दै सावधानी अपनाउन बारम्बार आग्रह गरिरहेका छन् ।

काठमाडौँ लगायत देशका विभिन्न शहरमा पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलँदो क्रममा रहेको हुनाले तेस्रो लहर आउने संकेत गरेको विज्ञले बताउँदै आइरहेका छन् । कोरोना महामारी नियन्त्रणका लागि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र समयमै परीक्षण गर्नुपर्ने विज्ञहरु बताउछन् ।

अव्यवस्थित बस्तीका कारण काठमाडौँ उपत्यका त्यसै पनि संक्रमणको जोखिममा रहेको छ । त्यसमाथि सर्वसाधारणको लापरबाही बढ्दा संक्रमण तीव्र गतिमा फैलिने देखिएको छ । भिडभाड नियन्त्रण गर्न सरकार मात्र होइन नागरिक पनि सजग हुन आवश्यक छ । वंगलादेशमा डेल्टा भेरियन्टको कारण संक्रमणदर आक्रमक रुपमा बढेकोले पुन कडा खालको लकडाउन लागु गरिएको छ । नेपालमा पनि हेलचेक्र्याई बढ्दै जाने र डेल्टा भेरियन्ट फैलदैं गएमा पुनः निषेधाज्ञा गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नेबारे नागरिक पनि सचेत हुनुपर्ने देखिन्छ ।