राजनीति

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् । मंगलवार अर्थमन्त्री शर्मालाई भेट्न पुगेका राजदूत बेरीलाई शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न आग्रह गरेका हुन् ।

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताएका छन् । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सकारात्मक रहेको उनले बताए । सो अवसरमा शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन समेत गरे ।