राजनीति

प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई


काठमाडौँ – नेपाल सरकारले कार्यवाहक प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाका रथी शर्मालाई कायममुकायम प्रधानसेनापति बनाउन सिफारिस गर्नुभएको हो ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सैन्य परम्परा अनुसार अवकाश हुनुभन्दा एक महिना अघि देखि बिदा बस्नु पर्ने नियम अनुसार थापा २४ साउनबाट बिदा बस्दै हुनुहुन्छ । त्यसैले नयाँ हुने प्रधानसेनापतिले कार्यभार सम्हाल्न शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदै हुनुहुन्छ । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालि सक्नुभएको छ । शर्मासँग सम्भाररथी विभागको प्रमुख र सेनाको युद्धकार्य महानिर्देशकको अनुभव छ ।

यस्तै, सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा र अमेरिकाबाट आतंकवाद सुरक्षा, थाइल्याण्ड, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय तालिम तथा सेमिनाहरु पूरा गरिसक्नुभएको छ । रथी शर्माले आफ्नो ३७ वर्षे लामो सैनिक सेवाको दौरानमा संयुक्त राष्ट्र संघको शान्ति मिशनको पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तराष्ट्रिय कमाण्ड सम्हाल्नुभएको थियो ।

शर्माको मुख्य प्राथमिकता कोभिड–१९ का कारण प्रभावित भएका तालिमहरुलाई सुचारु गर्ने, सेनाको क्षमतालाई अभिवृद्धि गर्ने र तीन जोड एक अवधारणा अनुसारको पुनर्संचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउने रहेको छ ।