राजनीति

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य भर्नु पर्ने


काठमाडौँ – कोरोनाविरुद्धको खोप लगाउनका लागि अब अनलाइन फारम अनिवार्य भर्नु पर्ने भएको छ । अबदेखि अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने भएका हो ।काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्र अनुसार सो निर्णय भएको प्रमुख खड्काको भनाइ छ । त्यस उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत उनले आग्रह गरेका छन् । यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन सुरु गर्ने उनले जानकार दिए ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने उनको भनाइ छ । १८ वर्षभन्दा माथिका नागरिकले यो वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सक्नुहुने छ ।