कोरोना विशेष

नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ? सरकारले दियो यस्तो जानकारी


काठमाडौँ – कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । सरकारले पनि संक्रमणको तेस्रो लहर आउन सक्ने अस्पलातहरुलाई तयारी थाल्न निर्देशन दिदै आएको छ । तर सम्भावित जोखिम न्यूनिकरणमा निर्देशन दिने र चिन्ता व्यक्त गर्नेबाहेक न सरकारको ध्यान गएको पाइन्छ न त नागरिक नै सचेत देखिन्छन् ।

विदेश जाने युवालाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र खोजेपछि युवाहरु प्रमाणपत्र लिनका लागि टेकु अस्पताल पुगेपछि भीडभाड निकै बढेको छ । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । भीडले स्वभाविक रुपमा जोखिम त बढाएको छ नै देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका यी युवाहरुले तिनदिनसम्म लाइन बस्दा पनि प्रमाणपत्र लिन पाएका छैनन् ।

विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन निकै सकस हुने गरेको छ । त्यसोत खोप लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने व्यवस्था छ । घण्टौं लाइनमा बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।

निकै ठूलो संघर्षपछि खोप पाएका युवाहरुले खोप लगाएको प्रमाणपत्र लिन निकै झन्झट खप्नु पर्ने अवस्था छ । यस्तो झण्झटिलो प्रक्रियाले युवाहरुले दैनीक सास्ती खेपिरहेका छन् । यसैबीच पछिल्लो हप्ता कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले पनि देखाउँछ । सरकारले पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन आह्वान गर्दै आएको छ । तर जोखिम न्यूनिकरणका लागि भने निर्देशन दिने र चिन्ता व्यक्त गर्नेबाहेक सरकारले खासै ध्यान दिएको पाइदैन् ।