कोरोना विशेष

काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्न थाले, खोप केन्द्रबाटै बढी संक्रमित


काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नै रहे पनि प्रभावकारी भने त्यत्ति देखिएको छैन । निषेधाज्ञालाई वेबास्ता गर्दा कोरोना संक्रमण हुनेको दर पहिलेको तुलनामा बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


एक साताअघिसम्मको कुरा गर्ने हो भने पनि प्रत्यक दिन चार सय देखि ४ सय ५० जनाको हाराहारीमा कोरोना संक्रमित भएकोमा अहिले त्यो संख्या बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा पुगेको छ । यो संख्या विगतको तुलनमा दिनमा तीन सयसम्मको बढी हो । यदि यसरी नै दैनिक रुपमा यो संख्या बढ्दै जाने हो भने यसले फेरि पनि पहिलेको जस्तै विकराल रुप लिन सक्छ । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। अहिले दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

संक्रमणको दर बढ्दै जाँदो अस्पताल भर्ना हुनेको संख्यामा पनि वृद्धि आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले दैनिक १५ देखि २० जना कोरोनाका बिरामी पुग्ने गरेको छन् । पुगेका मध्ये सात देखि दश जनासम्म अस्पतालमा भर्ना नै हुने गरेका छन् । अस्पतालमा २४ बेड क्षमताको आइसियुमा अहिले २१ जना बिमारी भर्ना भएका छन्। यसरी दैनिक रुपमा बिमारी बढ्दै जादाँ डर लाग्दो स्थिति आउन सक्ने अस्पतालका प्रमुख डा.अनुप बाँस्तोलाको बुझाई छ । खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट नै धेरै मानिसमा संक्रमण बढेको उनले बताए ।


अहिले जे जति तथ्यांक दैनिक रुपमा स्वास्थ्य मन्त्रालयले दिदैँ आईरहेको छ त्यो भन्दा बढी समुदायमा हुन सक्ने बुधबारको प्रेस ब्रिफिङका क्रममा स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ। ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने। लक्षण देखिएको संक्रमित भन्दा लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ।