समाचार

आज हरिशयनी एकादशी तुलसी सार्ने चलन


काठमाडौँ – आज हरिशयनी एकादशी, घरघरमा तुलसी सार्ने चलन छ ।

आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा मोठमा राखिएको तुलसीको बिरुवा मोठमा सारिन्छ ।

आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा आराधना गरे पनि तुलसी एक बहु उपयोगी बिरुवा मानिन्छ ।

धार्मिक तथा आयुर्वेदको दृष्टिकोणले पनि अति नै महत्त्वपूर्ण मानिन्छ । तुलसीको मुख्य दुई प्रजाति रहेको हुन्छ – कालो तुलसी र सेतो तुलसी । कालो तुलसी गाढा हरियो र कालो रङ्गको हुन्छ भने सेतो तुलसी सेतो, हल्का हरियो रङ्गको हुन्छ ।

यी दुवै प्रकारका तुलसीमा औषधीय गुण भरिपूर्ण रहेको हुन्छ । तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौँ विधि बताइएको छ ।