समाचार

बन्द पशुपतिनाथको बाहिरै पूजा गरेर फर्किए दर्शनार्थी (भिडियोसहित)


काठमाडौँ – अघिल्लो वर्षको साउने सोमवारजस्तै यस वर्ष पनि भगवान् शिवको दर्शन गर्न श्रद्धालु पाशुपत क्षेत्र पुगे । कोरोनाको महामारीलाई बेवास्ता गर्दै त्यहाँ पुगेका उनीहरू मन्दिर खुला नभएका कारण गेटबाटै आस्था प्रकट गरी फर्किए । कोरोना संक्रमणको त्राससँगै काठमाडौंस्थित पशुपतिनाथको मन्दिर करिब तीन महिनायता बन्द छ ।

नियमित पूजा चले पनि दर्शनार्थीका लागि लगाइएकोे बन्देज खुलेको छैन । तर साउनको पहिलो सोमवार दर्शनार्थीलाई पाशुपत क्षेत्र आउन न त सरकारको बन्देजले छेक्यो, नत कोरोनाको त्रासले । आषुतोष भगवान् पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्न नपाए पनि श्रद्धालुले उनीप्रति प्राङ्गढबाटै आस्था प्रकट गरे ।

कोरोनाका कारण मन्दिर बन्द भएपनि पशुपति क्षेत्रमा भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजाका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् । मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । यद्दपी बाहिरबाटै दर्शन र पूजा गर्न पाउँदा पनि भक्तालुहरू खुशी नै देखिन्थे ।

नेपालमात्र होइन कोरोना संक्रमणको असर विश्वव्यापी परेको छ । यस्तो वेला पशुपतिनाथ मन्दिरको पूजाआजा प्रभावित हुनु अस्वाभाविक होइन । तर अन्य सबै क्षेत्र खुला भइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाएर मन्दिर खुला गर्नेतर्फ सोच्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।