राजनीति

जसपाको आधिकारीकताबारे निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ । दुबै पक्षसँगको संयुक्त छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको हो ।

ऐनका अनुसार दुवै पक्षले आफ्नो आधिकारीकता दावी गर्न कानून व्यवसायीलाई इजलासमा बहस गराउन सक्नेछन् । जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।

यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । ठाकुर पक्ष ओली समूहतिर लागेको थियो । जसबाट यादव समूह केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमतमा देखिएको छ । शनिबारमात्रै ठाकुर पक्षका ५ जना सांसदहरु यादव समूहको बैठकमा सहभागी भएका छन् ।