राजनीति

नेकपा एमाले विभाजनको डिलमा : ओली र नेपालबीच दूरी बढ्दा देउवालाई राहात (भिडियोसहित)


काठमाडौँ – संसदको सवैभन्दा ठूलो दल नेकपा एमाले विभाजनको डिलमा रहेको छ । अध्यक्ष केपी ओली एकतर्फी बैठक राखेर अघि बढेपछि सहमतिमा लचक देखिएका कार्यदलका सदस्य पनि बिच्किएका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच दूरी बढ्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिन सहज हुने देखिएको छ ।

विवाद मिलाउन गठित कार्यदलले १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेपछि एमाले विवाद मिल्ने र देउवाले विश्वासको मत नपाउने चर्चा चुलियो । लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाए । नेपाल पक्षीय कार्यदलका सदस्य नै अध्यक्ष केपी ओलीसँग मिलेको आरोप लाग्यो । आरोपलाई व्यवस्ता गर्दै कार्यदल सदस्यहरू एमाले मिलाउने अभियानमा होमिए ।

जब ओलीले प्रधानमन्त्री निवासबाट निजी निवास पुगेर अभिव्यक्ति दिए एकताको पक्षमा लागेका नेताहरू पनि निराश भए । तर, कार्यदलका सदस्यहरूले एकता अभियान रोकेनन् । एकताका लागि बैठक रोक्न माग गर्दै नेपाल पक्षीय कार्यदलका सदस्यहरू बैठकस्थल पुगे । बैठकमै आफना कुरा पनि राखे । तर, सुनुवाइ नभएपछि बैठकमा बस्न नसक्ने भन्दै निस्किए ।

नेपाल पक्षमा स्पष्ट दुई लाइन देखिएको छ । एउटा पक्ष बीचको बाटो अघि बढ्नुपर्ने पक्षमा छ भने अर्को पक्ष ओलीलाई नेतृत्व स्वीकार्ने पक्षमा छैन् । ओली नसुध्रेसम्म बैठकमा नजाने र ओलीको नेतृत्व पनि नस्वीकार्ने अडान राख्ने पक्ष बलियो देखिएको छ ।

सत्ताबाट बाहिरिएको ओली पक्षले अब नकुर्ने नीति लिएको छ । कार्यदलको सहमतिअनुसार शीर्ष तहमा छलफलपछि मात्र औपचारिक बैठक राख्न नेपाल पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै ओली पक्ष अघि बढेको छ ।

संस्थापन पक्ष फेरि एकलौटी रुपमा अघि बढेपछि नेपाल पक्षमा मध्यमार्गी नेताहरूको आवाज मधुरो भएको छ । ओली नसच्चिएसम्म बैठकमा सहभागी नहुने र ओलीको नेतृत्व नै अस्वीकार गर्नुपर्ने पक्षलाई हाबी हुन सहज भएको छ । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिन सहज हुने देखिएको छ । कांग्रेस नेताहरू विश्वासको मत पाउनेमा ढुक्क छन् ।
देशको राजनीतिसँगै एमालेमा आन्तरिक समिकरण पनि फेरिएको छ । ओली पक्ष प्रतिपक्षको कित्तामा पुगेको छ भने नेपाल पक्ष सत्ताधारी ।