समाचार

आलुचिप्स र क्रन्ची कुरकुरेमा उद्योगीको बदमासी, जनस्वास्थ्यमाथि खेलवाँड ? (भिडियोसहित)


काठमाडौँ – आलुचिप्स वा क्रन्ची कुरकुरे जस्ता खाद्यवस्तुको प्याकेटमा नाइट्रोजन ग्यास भर्ने गरिन्छ । अरु ग्याँस भर्दा वा भर्दै नभर्दा चाँडै ओसिने समस्या सिर्जना हुन्छ । तर एनडिएच मसलाले उत्पादन गर्ने आलुचिप्स, एनडिएच क्रन्ची नामका उत्पादनहरुमा एउटा ग्यास उद्योगले गलत ग्यास पठाइ दिँदा उत्पादक कम्पनीलाई एक करोडभन्दा बढी नोक्सानीमा पारिदिएको छ ।
नाइट्रोजन पठाउनु पर्ने ठाउँमा अक्सिजन पठाएर सोपान फर्मास्युटिकल्सले बदमासी गर्दै जनस्वास्थ्यमा समेत खेलवाँड गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सोपान फर्मास्युटिकल्सले नाईट्रोजन ग्यास भन्दै अक्सिजन आपूर्ती गर्ने गरेको खुलासा भएको छ । कमल सिंह सञ्चालक रहेको एनडिएच कम्पनीमा नाईट्रोजन ग्यास भनेर पठाईएको सिलिन्डरमा समेत ओ टू लेखिएको छ अर्थात ती सिलिन्डर अक्सिजनका भेटिएपछि यस्तो खुलासा भएको हो ।

अक्सिजन जस्तो प्राणदायक ग्यास उत्पादन गर्ने कम्पनी आफ्ना सिलिन्डरमा उत्पादन मिति,उत्पादन सकिने मिति,ब्याच नम्बर जस्ता अत्यावश्यक कुरा राख्न आवश्यक ठान्दैन । यी सिलन्डरमा स्टीकर,लेवलजस्ता कुरा पनि छैनन् ।

अर्थात तपाईले अक्सिजन भनेर किनेको ग्यास अक्सिजन नै हो वा अन्य त्यो छुट्टयाउन विषयगत जानकार नै हुनु पर्ने अवस्था छ । यसबारे प्रश्न गर्दा सोपनाले त्यो पत्ता लगाउने जिम्मा सर्वसाधारणकै भएको गैर्जिम्मेबार जवाफ दिएर पन्छिने गरेको छ । यो पल्ट त एनडिएच मसलाले आफ्नो उत्पादन ओसिए पछि जाँच गर्दा अक्सिजन भएको पत्ता लगायो । यस्तै लापरबाही हो भने कोरोनाका महामारीमा अक्सिजन अभाव भएका बेला यो कम्पनीले अक्सिजन भन्दै अस्पतालमा पठाएको सिलिन्डरमा अर्कै ग्यास थिएन भन्ने के ग्यारेन्टी ?

नाईट्रोजन ग्यास ड्राई ग्यास हो । कुनै खाद्य पदार्थ न ओसियोस भनेर यसको प्रयोग गरिन्छ । तर त्यसमा अन्य ग्यास भरिए त्यसको असर आम सर्वसाधारणलाई समेत पर्छ । किनभने खाद्यपदार्थ उत्पादक कम्पनीले विश्वासकै भरमा त्यस्ता खाद्य पदार्थमा ग्यास भर्ने गर्छन । तर अक्सिजन जस्तो प्राणवायु उत्पादन गर्ने कम्पनीले यस्तो लापरबाही नगर्ला भन्ने विश्वासका कारण एनडिएच कम्पनीको करोडौं रुपैयाँ बराबरको उत्पादन बर्बाद भएको हो । तर सोपान फर्मास्युटिकल्स भने एनडिएचको उत्पादनमा यस्तो समस्या आउनुमा आफ्नो कमजोरी नभएको ग्यास कम्पनीको दाबी छ । आशंका लागे मुद्दा मामिला गर्न चुनौती दिँदै कम्पनीले दाबी प्रमाणित गर्न चुनौती समेत दिएको छ ।

बास्तविकता के हो ? समस्या उत्पादन प्रक्रियामा हो कि ग्यासमा ? त्यसको यथार्थ छानविन हुनुपर्ने माग एन डिएचले गरिरहेकोछ । ए्नडिएचले अहिले व्यहोरेको आर्थिक क्षतीको मात्र नभई आम सर्वसाधारण स्वास्थ्य समेतको विषय हो । तर आफै अनुगमनमा जानुपर्ने निकायले उजुरी आउँदा समेत मौन हुनु चाँहि रहस्यमय देखिएको छ ।