गण्डकी प्रदेश

ओली र नेपालबीच दूरी बढ्यो : दोस्रो तहका नेताको सक्रियताले पाउँला त सार्थकता ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका नेताहरुलाई पार्टीप्रति एकताबद्ध बनाउन गठित कार्यदल विघटन भइसके पनि सो कार्यदलमा रहेका सदस्यहरुले छलफललाई निरन्तरता दिएका छन् । कार्यदलले असार २७ मा १० बुँदे सहमति कायम गरे पनि त्यसले पार्टी एकतालाई जोगाउन संकेत नदेखिएपछि विघटित कार्यदलका सदस्यहरु अझै छलफलमा जुटिरहेका छन् ।

नेकपा एमालेका नेताहरुलाई टुटफुटबाट जोगाउन भनेर दोस्रो तहका नेताहरु सम्मिलित कार्यदलले १० वटा बुँदामा सहमति पहिल्यायो । तर त्यो सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल नै सहमत हुन सकेनन् । शुक्रबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले कार्यदलमा भएको १० बुँदे सहमतिलाई अनुमोदन गरेर कार्यदल भंग गर्ने निर्णय गरिसकेको छ ।

तर विघटित कार्यदलका सदस्यहरु अझै छलफलमा छन् । छलफलमा सहभागी नेताहरुले अनौपचारिक रुपमा सम्वाद गरिरहेको प्रतिक्रिया दिएका छन् । सो सम्वादको चुरो विषय चाहिँ ‘१० बुँदे सहमतिमा टेकेर पार्टीमा उत्पन्न विग्रह अन्त्य गर्ने प्रयास रहेको’ भन्ने छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोख्रेल र विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी हुनुहुन्थ्यो ।

छलफलपछि दुवै समूहका नेताहरुले १० बुँदे सहमतिका आधारमा कसरी पार्टीलाई एकताबद्ध बनाउने भन्ने विषयकै केन्द्रमा रहेर छलफल गरिएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि सरकार विघटन भएसँगै एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालको स्थान पार्टीमा नरहेको उल्लेख गरेका थिए । नेकपा एमाले नेतृत्वको सरकार एमालेकै सांसदहरुका कारण ढलेपछि पार्टी अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा स्वीकार नगर्ने मनस्थितिमा छन् । तर उनकै समूहका नेताहरु अहिले पनि नेपाल पक्षका नेताहरुसँग सम्वादमा छन् । शीर्ष नेताहरु सहमतिमा नआए दोस्रो पुस्ताका नेताहरु पार्टीमा हस्तक्षेपकारी भएर प्रस्तुत हुने तयारी गरिरहेको बुझिएको छ । चर्चामा रहेको यो विषयमा नेताहरुले मुख खोलिसकेका भने छैनन् ।