राजनीति

एआईजी सरुवा रोक्न नवनियुक्त गृहमन्त्री खाँणको निर्देशन


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय स्रोतले अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा रोक्न गृह मन्त्रालयले निर्देशन दिएको जनाएको छ । मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका थिए । तर प्रहरी महानिरीक्षक शैलेश थापाले आफैंले बनाएको आचारसंहिता विपरित एक वर्ष नभइ उनको सरूवा गरेको भन्दै आलोचना भएको थियो ।

बालुवाटारले चाहिँ पालले विपक्षी गठनबन्धनलाई सहयोग गरेको आरोप लगाएको थियो । पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्कीको सरूवा गरिएको थियो । प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको थियो ।