कोरोना विशेष

कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौंमा


काठमाडौँ – कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आइपुगेको छ । कोभिड– १९ विरुद्धको जोनसन एन्ड जोनसन भ्याक्सिन कतार एयरवेजको नियमित उडानबाट आएको हो ।

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई निःशुल्क प्रदान गरेको हो । अमेरिकाबाट प्राप्त खोप कुन उमेर समूहका नागरिकलाई लगाउने भन्ने निर्णय सरकारले गरिसकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।


कोरोनाका नयाँ नयाँ भेरियन्टले आम नागरिक त्रसित बनेका बेला सरकारले खोप खरिदमा देखाएको क्रियाशिलताले केही आशा जगाउन थालेको छ । कोरोनासँग जुध्न खोप नै अन्तिम विकल्प बनेका बेला खोपमा भएको ब्रेक थ्रुले नागरिकमा खोप पाउने आशा जगाएको हो । प्रधानमन्त्री स्वयमले पनि सन् २०२१ भित्र सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाईसक्ने दाबी गरेका छन् ।