कोरोना विशेष

इजरायलबाट आइपुग्यो स्वास्थ्य सामग्री


काठमाडौँ – कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि इजरायलले नेपाललाई २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका अनुसार ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो ।

‘कोभिड—१९ सँग सम्बन्धित इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन् ।

नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौँ ल्याइएको छ । विमानस्थलमा इजरायली राजदूत हनान गोडेरले नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् ।