राजनीति

ओलीका कार्यकालमा दुई राष्ट्रिय गौरवका आयोजना सम्पन्न, मुलुक विद्युतीय युगमा प्रवेश गर्दै


काठमाडौँ – स्वदेशी लगानीमा बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारबाट उत्पादन सुरु गरेको छ । अहिले पहिलो युनिट सञ्चालनमा आएको भए पनि एकाध महिनाभित्रमा आयोजनाका छ वटै युनिट सञ्चालनमा आइसक्नेछन् । यससँगै विद्युत आयातबाट देश मुक्त हुने भएको छ । अर्थात विद्युत आयातका लागि वर्षमा भइरहेको २०–२५ अर्बभन्दा बढी रकम बचत हुनेछ ।

१० वर्षअघि निर्माण थालिएको स्वदेशी लगानीको सबैभन्दा ठूलो जलविद्युत आयोजना ’माथिल्लो तामाकोसी’ को बिजुली अन्ततः सोमबारबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै स्विच थिचेर विद्युत उत्पादनको उद्घाटन गरेका हुन ।

स्वदेशी लगानीमा बनेको यो आयोजनामा वित्तिय संस्थादेखि नेपाल विद्युत प्राधिकरण र सर्वसाधारणले समेत लगानी गरेका छन् । तर निकै ढिलो गरी सन्चालनमा आएको यो आयोजना सम्पन्न नहुन्जेलसम्म धेरै समस्याहरु देखिएका थिए । भारतले लगाएको नाकाबन्दी र विनाशकारी भूकम्पलाई देखाएर माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण ठ्याक्कै २० महिना ठप्प पारिएको थियो भने भूमिगत सुरुङको डिजाइन नै परिवर्तन गर्नु परेको थियो ।

हाइड्रो मेकानिकल, काम गर्ने भारतीय ठेकेदार टेक्स म्याको रेल्वे एन्ड इन्जिनियरिङ नामक कम्पनीले नियतबस समयमा काम नसकेको शंका गरियो । यी प्रमुख कारणहरुले गेम चेन्जर मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सुरु भएको १० वर्षपछि मात्र सम्पन्न भयो । नेपालको अपूग आन्तरिक माग पूरा गर्न सक्षम ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण सम्पन्न भएर पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने अवस्थामा पुगेको छ ।

नेपालको जलविद्युत विकासमा माथिल्लो तामाकोशी एक कोशेढुंगा सावित हुन सक्ने भएकोले यो आयोजना आम नेपालीको चासो र चर्चाको विषय बन्दै आएको थियो । यो आयोजनाले विजुली आयातको अवस्थालाई अन्त्य गरिदिने ल्याकत राख्छ, भने नेपालमा ठूला योजना आन्तरिक लगानीबाटै सम्भव छ भन्ने प्रमाणित भएको छ । यस योजनाको सफलतापछि मुलुक विद्युतीय युगमा प्रवेश गर्ने सम्भावना पनि बढेको छ । वार्षिक झन्डै ६० अर्ब बराबरको खाना पकाउने ग्यास आयात कम गर्न सकिने सम्भावनाको ढोका पनि खुलेको छ । तर यो आयोजना सम्पन्न हुन नदिन धेरै चलखेल हुँदै आएको थियो ।

एक डेढ महिनाअघि प्रधानमन्त्रीले माथिल्लो तामाकोशी ढिलो हुनुमा स्वभाविक कारण नरहेको शंका गरेका थिए । उनले सार्वजनिक रुपमै माथिल्लो तामाकोशी निर्माण संलग्नहरुको आलोचना गरेका थिए भने विज्ञहरु पनि यो समयमै सम्पन्न नहुनुमा स्वभाविक कारण नरहेको बताउँदै आएका थिए ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको योजना सोमबार प्रधानमन्त्री ओलीले उद्घाटन गरे । राष्ट्रिय गौरवमा परेका दुई योजना उद्घाटनको श्रेय प्रधानमन्त्री ओलीले पाएका छन् । तर गौरवका आयोजना अन्तर्गत सन्चालनमा रहेका कुनै आयोजनाका कामहरु सन्तोषजनक देखिएका छैनन् ।
अधिंकाशमा डिजाईन, मोडालिटी र आयोजनाका सम्झौताकै क्रममा क्रुटि हुँदा काम लामो समयसम्म पुरा नहुने तथा अलपत्र पर्ने गरेको छ । जुन नियती माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजनाले पनि भोगे । यसर्थ सरकारले यस्ता समस्या समाधान गरेर अघि बढ्न ध्यान दिन जरुरी छ ।