राजनीति

जसपाको दुबै समूह आ–आफ्नो बाटो लाग्न सहमत, कस्ले पाउला आधिकारिकता ?


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को एकता टरेको छ । निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटोमा लाग्न सहमत भएसँगै एकता टरेको हो । अब निर्वाचन आयोगले एक पक्षलाई आधिकारिकता दिनुपर्नेछ ।

जनता समाजवादी पार्टी, नेपाल आधिकारिक रुपमा फुट्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षविच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेश गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमती जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । निर्वाचन आयोगकाले जसपा विवादको समाधान सहमतीबाट हुन नसकेको भन्दै अब नियमानुसार आधिकारिकताको विवाद टुंग्याउन इजलाश गठन हुने र इजलाशले सुनुवाईको प्रक्रिया अगाडी बढाएर विवादको निरुपण गरिने बताएको छ ।

जसपा यादव पक्षका नेताले ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताएका थिए । पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने कुरा उनीहरुले छलफलका क्रममा राखेका थिए । पार्टी एकता हुने कि नहुने भन्नेमा महन्थ ठाकुर पक्षको हात रहेको र पार्टीको आधिकारिकता भने निर्वाचन आयोगले आफ्नो पक्षलाई दिने यादव पक्षको दाबी छ ।

यता जसपा ठाकुर पक्षका नेताले आफुहरुले कुनै पनि गल्ती र असंवैधानिक काम नगरेकाले क्षमा माग्नुपर्ने अथवा आत्म आलोचना गर्नु आवश्यक नरहेको जिकिर गरेका छन् । उपेन्द्र यादवले पार्टीले विभाजन चाहेको भन्दै अब विभाजनकै दिशातर्फ आगाडी बढेको बताए । आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडी बढ्ने भन्ने निर्णय भएको हो ।

निर्वाचन आयोगमा भएको छलफलमा उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित हुनुहुन्थ्यो भने महन्थ ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए । दुवै पक्ष फुटने सहमति भएसँगै अब यादव पक्ष र ठाकुर पक्षबीचको सहमतिको सम्भावना सकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई साथ दिने या नदिने भन्ने विषयबाट शुरु भएको जसपा विवाद अन्तत फुटमा टुंगिने भएको छ ।